काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना दुई ट्वीटलाई ट्विटरले फ्याक्ट चेकिङ चेतावनीको बिल्ला भिराएपछि सामाजिक सञ्जाल नै बन्द गराइदिने धम्की दिएका छन् ।
उनले अमेरिकी निर्वाचनमा ट्विटरले हस्तक्षेप गरेको र अभिव्यक्ति स्वतन्त्रतालाई पूरै दबाएको आरोप लगाए ।
त्यतिले मात्र नपुगेर ट्रम्पले बुधवार यस्तो ट्वीट गरे, ‘कन्जर्भेटिभहरूको आवाजलाई सामाजिक सञ्जालका प्लेटफर्महरूले दबाउने गरेको रिपब्लिकनहरूको अनुभव छ । त्यसो हुनुअघि हामी यस्ता प्लेटफर्मलाई कडा नियमन गर्न वा पूरै बन्द गरिदिन्छौं । उनीहरूले सन् २०१६ मा यस्तै गर्न खोजेका थिए र विफल भए । अहिले त्यसैको विकसित संस्करणलाई हामी अनुमति दिने छैनौं ।’
हुलाकबाट मत दिने काममा व्यापक भ्रष्टाचार र धोकाधडी हुने भनी ट्रम्पले गरेको ट्वीटलाई ट्विटरले मंगलवार फ्याक्ट चेक गर्नुपर्ने भनी लेबल लगाएको थियो । त्यसले ट्रम्पलाई क्रुद्ध बनाएको हो ।
Republicans feel that Social Media Platforms totally silence conservatives voices. We will strongly regulate, or close them down, before we can ever allow this to happen. We saw what they attempted to do, and failed, in 2016. We can’t let a more sophisticated version of that….
— Donald J. Trump (@realDonaldTrump) May 27, 2020