काठमाडौं : गैरदलित समुदायका नागरिक, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
लेखकहरु खगे्न्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र कवि विनोदविक्रम केसीलगायत १३८ जना लेखक, साहित्यकार र अधिकारकर्मीले आज संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी घटनाको विरोधमा ऐक्यबद्धता जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका–८ की मल्ल युवतीबीचको प्रेम सम्बन्धका कारण स्थानीयवासीले नवराजसहित तीनजनाको हत्या गरिएको र अन्य तीनजनालाई बेपत्ता पारिएको नरसंहारका घटनामा पीडितको न्याय र पीडकलाई हदैसम्मको कारवाही होस् । पीडित परिवारका साथै मल्ल युवतीको मानसिक र भौतिक सुरक्षाको बारेमा पनि आवश्यक कदम चालिनुपर्छ ।’
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदैगर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो ।
नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् । उनिहरुले देशैभरि अन्तरजातीय विवाहका कारण हत्या गरिएका र दबाबका कारण आत्महत्या गर्ने अवस्थामा पुर्याइएका सबै घटनाको छानविन गर्नका लागि उच्चस्तरीय संसदीय समिति तुरुन्त गठन गर्नसमेत आग्रह गरेका छन् ।
निष्पक्षरुपमा छानविन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले आवाज उठाउँदै आएका छन् । रासस