सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज (बुधबार) बिहान सम्म सुर्खेत हुँदै कर्णाली प्रवेश गर्ने जनताको संख्या १४ हजार ४९६ जना रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गते यता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिकहरु प्रवेश गरेको बताएका छन् । कर्णाली भित्रिनेमा सवैभन्दा बढि दैलेखका छन् भने डोल्पाका शुन्य छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखले दिएको जानकारी अनुसार भारतबाट दैलेख प्रवेश गर्नेको संख्या ४२ हजार हुने प्रक्षेपण गरिएको छ । मंगलबार राती मात्रै दैलेख सदरमुकामको क्वारेन्टिनमा बसेका नागरिकले खाना र पानीको बिषयलाई लिएर नाराबाजी गरेका थिए । क्वारेन्टिनमा बस्ने व्यवस्था राम्ररी मिलाइएको छैन भने ती क्वारेन्टिनहरुमा कोचिएर बस्नु पर्ने भएकाले सुरक्षित हुने नभई रोग झनै फैलिने निश्चित नै छ ।
सुर्खेतमा विभिन्न स्थानमा बनाइएका क्वारेन्टिनको अवस्था पनि बिकराल नै रहेको पत्रकारहरुले बताएका छन् । घंण्टाघर अगाडी बनाइएका क्वारेन्टिनहरु पूर्ण रुपमा असुरक्षित रहेको र खाना तथा पानीको समेत व्यवस्था नभएको उनीहरुले जानकारी दिए । लामखुट्टेको टोकाई र पानी समेत पिउन नपाइने गुनासो त्याँहा बसिरहेकाहरुले बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाका सवै सामुदायिक विद्यालय र सरकारी शैक्षिक संस्थालाई क्वारेन्टिन बनाउने निर्णय गरेको छ । क्वारेन्टिन बनाउने मात्र नभई बाहिरबाट आएका सबैको पिसिआर परिक्षण गरिनुपर्ने आम जनताको माग छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको जनाएको छ । कर्णालीका सवै संक्रमितहरु भारतबाटै आएको स्वयं प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार राती १२ बजे चिङ्गाड गाउँपालिका–३, अवलचिङका भारतबाट आएका २२ वर्षीय एक युवाको प्रदेश अस्पताल सुर्खेतमा निधन भएको छ ।
बाथरोगको उपचार गरिरहेका उनलाई समयमा अस्पताल पुर्याउन नसक्दा र बाटोको धपेडीका कारणा मृत्यु भएको उनका मामा नाता पर्ने आफन्तले बतएका छन् ।
यसरी पछिल्लो समय कर्णाली भित्रिने नागरिकको लर्को दिनानुदिन बढिरहेको छ । भारतमा कर्णाली ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ ।
कर्णाली सरकारले सुर्खेत प्रवेश गर्ने नाका उपत्यकाको सुब्बाकुनामा मानिसहरुलाई घण्टौं लाइनमा बसालेर चेकजाँच गरिरहेको जनाएपनि त्याँहा भरपर्दो चेकजाँचको ब्यवस्था छैन । प्रदेश अस्पतालका डाक्टर डम्बर खड्काले यसरी जनतालाई अव्यवस्थित तरिकाले चेकजाँच गर्न नसकिने बताउँदै सुर्खेतको सीमा स्थलमैं सेना परिचालन गरेर कर्णाली प्रवेश गर्न दिनुपर्ने बताएका छन् । यदी यसो गर्न नसकिएको अवस्थामा स्थिती भयावह हुने उनको ठम्याई छ ।
घर पुगे सुरक्षित भइन्छ भनेर आएका नागरिकहरु गृह जिल्लाा प्रवेश गर्ना साथ यसरी असुरक्षित हुने मात्रै होइन, ज्यान नै गुमाउनु पर्ने अवस्था श्रृजना भएको छ । कर्णाली सरकारले भारतबाट आउने नेपालीलाई सीमा नाकामै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरिसकेको जनाएको छ ।
उचित संख्यामा स्वास्थ्यकर्मी परिचालन, पिसिआर परिक्षण लगायतका काम सकेर मात्र क्वारेन्टिनमा पठाउनुपर्नेमा त्यसो नगरी जनशक्ति र स्वास्थ्य सामग्री अभाव भएको भन्दै सामान्य परिक्षणका भरमा मानिसलाई असुरक्षित बनाइएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
तथापी, प्रदेश सरकारले यस बिषयमा समयमैं कदम नचाल्नु र नागरिकहरु हजारौंको संख्यामा आउन थालेपछि मात्र आत्तिने अवस्था आएको स्थानीयले बताएका छन् । यस अवस्थामा कर्णाली सरकारले परिक्षणको दायरा बढाउनु पर्दछ भने आएका नागरिकलाई उचित व्यवस्थापन गर्न व्यापक जनशक्ति तथा स्वास्थ्य उपकरण प्रयोगमा ल्याउनु जरुरी देखिएको छ ।