जाजरकोट : शनिबार वेलुका भएको पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीको घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
भेरी नदीमा डुबेर मृत्यु भएका नबराज बिक, टीकाराम बिक सहित भेरी नगरपालिका–४ का गणेश बुढा मगरको पनि मृत्यु भएको पुष्टी भएको हो ।
बुढाको लास सोमबार फेराखोला नजिक भेरीनदी किनारमा फेला परेको थियो । गणेशको लास फेला परेपछि मृत्यु हुनेहरुको संख्या तीन पुगेको जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले दिएको जानकारी अनुसार भेरी नगरपालिका–४ का सुरज विक, ११ का लोकेन्द्र सुनार र गोविन्द शाहीको अबस्था भने, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । नेपाल प्रहरीले उनीहरुको खोजीकार्य गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
यस अघि टीकाराम र जाजरकोट भेरी नगरपालिका ४ का नवराजको सव फेला परिसकेको थियो । नवराजकी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटी लखेटी आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केही घाईते र सँगै गएकाहरुले पुरै गाँउ नै उर्लेर आएको र घेरा हालेर कुटपिट गरी ६ जनालाई भेरीमा फालिदिएको बताएका छन् ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाअध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्ल, सुष्माका बुवा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, छिमेकी डिल्ली मल्ल, मोहन पुन लगाएतका १२ जनालाई प्रहरीले पक्राउगरी जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमलाई बुझाई सकेको ईलाका प्रहरी कार्यालय चौरवहारीका ईन्चार्ज प्रहरी निरिक्षक धर्मसिंह बिष्ठले जानकारी दिएका छन् । बिष्ठले दिएको जानकारी अनुसार पक्राउ परेका १२ जनालाई सोमबारनै जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमलाई बुझाईएको हो ।
नबराजका आफन्तहरुले सोमबार दिउसो जिल्ला प्रहरी कार्यालय, जाजरकोट अगाडी नाराबाजी गरेका थिए । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले संघ, प्रदेश र स्थानीय सरकार, आफुसंलग्न रहेको राजनैतिक (नेकपा) पार्टीका तर्फबाट यस घटनाको सत्यतथ्य छानविन गर्नुको साथै पिडित पक्षलाई राजनैतिक, सामाजिक र कानुनी न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस घटनालाई लिएर कर्णाली प्रदेश सभामा सांसदहरुले छानविन गर्न उच्च स्तरिय छानविनको माग गरेका छन् ।