सुर्खेत : कर्णाली प्रदेश सरकारले अव कोरोना संक्रमण नदेखिएकालाई परिक्षण गरेर मात्रै सम्वन्धित जिल्ला र घर पठाइने निर्णय गरेको छ ।
प्रदेश विपत् व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले भारत लगायत बाहिरबाट आउने नागरिकलाई सिमा नाकामैं परिक्षण गरेर मात्र प्रदेश वा गृह जिल्ला पठाउन केन्द्र सरकारसंग अनुरोध गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको महामारी र बर्तमान कर्णालीको अवस्थालाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्न भारत लगायतबाट आउने कर्णालीबासीलाई प्रदेशको विन्दुमैं परिक्षण र मनोसामाजिक परामर्श दिने लगायतका निर्णय गरेको छ ।
बैठकले सामाजिक विकास मन्त्रालयको पहलमा परिक्षण पश्चात सम्वन्धित जिल्लाको क्वारेन्टाइनमा बस्ने र निश्चित अवधि पछि पिसिआर परिक्षण गरेर मात्र घर जान दिने निर्णय गरेको छ ।
यसका साथै, भारतबाट आवश्यक्ता अनुसार यहाँ आउने नागरिकको उद्दार कार्यको जिम्मेवारी र उनीहरुको सबै खालको विवरण अद्यावधिक गर्ने कार्य आन्तरिक मामला तथा कानून मन्त्रालयले गर्ने समेत निर्णयमा उल्लेख छ । प्रदेश प्रहरी प्रमुखले कालिकोट र जुम्ला, उत्तर पश्चिम हेडक्वाटरले दैलेख र सुर्खेत तथा सशस्त्र प्रहरी बल, महेश्वरी बाहिनी लगायतका सुरक्षा निकायले सल्यान, रुकुम (पश्चिम र जाजरकोट) को स्थानीय क्वारेन्टाइनको व्यवस्थाका साथै सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि बैठकमा गरिएको छ ।
विकास निमार्णका कार्यलाई निरन्तरता दिने, यस्ता कार्यमा संलग्नहरुको स्वास्थ्य परिक्षण गरिने, संक्रमित व्यक्तिलाई समवन्धित जिल्लाकै क्वारेन्टाइन वा आइशोलेसनमा राखिने, जोखिमयुक्त क्षेत्रबाट कुनै पनि सामग्री आयात नगरिने वा सुरक्षा प्रत्याभूति गरेर मात्र ढुवानी गरिने, दुर्गम जिल्लामा स्वास्थ्य परिक्षण गर्न तथा स्वाव संकलन गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिनेर सवै जिल्लाका एम्बुलेन्सहरु बिरामी ओसार पसारका लागि तयार राख्ने लगायतका निर्णय समेत बैठकले गरेको छ ।