जुम्ला : भारतबाट आएर प्रदेश सरकारले उद्दार गरेका जुम्लाका २९ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
शनिबार राती १ बजे प्रदेश सरकारले उद्धार गरेर जुम्ला पुगेका उनीहरुलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाईनमा राखिएको हो ।
उनीहरुलाई प्रशासनको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पुर्याईएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएका मध्य २५ जना हिमागाउँपालिकाका, १ जना कनकासुन्दरी, १ जना तिलाको , १ जना हुम्ला र १ जना मुगुका गरी २९ जना रहेका छन् ।
यो भन्दा पहिले स्थानीयस्तरमा बनाईएका क्वारेन्टाईनमा सुरक्षा अभावका कारण मानिसहरु अटेर गरेर गाउँपस्ने गरेको पाईएको थियो ।
पछिल्लो समय एक हजार दुई सय ६३ जना नागरिकको पिसिआर जाँच गरेर नेगेटिभ आईसकेको जुम्लामा अब सबै बाहिरबाट आउनेलाई क्वारेन्टाईनमा राखेर जाँच गर्ने र सोही अनुसार रोकथाम उपचारको विधि अपनाउने लक्ष्य लिईएको छ ।
जिल्ला बाहिरबाट मानिसहरु आउने भएपछि आकस्मिक रुपमा स्थानीयतह, राजनैतिकदलहरु र सुरक्षा प्रमुखहरुको शनिबार बैठक बसेर कर्णाली प्राविधिक शिक्षालयलाई जिल्लाकै एकीकृत क्वारेन्टाईन तयार गर्ने निर्णय गरिएको थियो ।
क्वारेन्टाइनमा खाना खाजा र व्यायमसहित स्वास्थ्य सम्वन्धि क्रियाकलापबारे सिकाउने योजना रहेको छ । उद्दार गरेर ल्याइएका नागरिकले भारतमा आँफुहरु ४५ दिन अलपत्र परेर जिल्लामा पुगेको बताउँदै सरकारले उद्धार गरेर घर ल्याइदिएकोमा खुशी व्यक्त गरेका छन् ।
हिमा गाउँपालिका-१ देवारगाउँ निवासी गगन शाहीले हामीलाई उद्धार गरेर आफूहरुलाई मातृ जिल्लामा ल्याएकोमा सम्पूर्ण निकायलाई धन्यवाद दिए ।