वीरगञ्ज : पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार दिइएको छ। बुधबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमित भागेमा गोलीसमेत हान्न पाउने अधिकार दिएको हो ।
‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी भनिन् । बुधबार नै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका थिए ।
कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना भारतीय नागरिक बुधबार झ्याल फोडेर फरार भएका थिए । उनीहरूलाई सोही दिन साँझ नै सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
एसपी पन्तका अनुसार दुईमध्ये एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिइएको हो । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।
बुधबार नै दुवै जनालाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरू अस्पतालको शौचालयबाट भागेका हुन् । दुवैजनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।