काठमाडौं : अस्पतालमा उपचाररत बालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
अस्पतालको न्यूरो वार्ड बेड नम्वर ५० मा उपचाररत ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको सम्पर्कमा आएका डाक्टर, नर्स, कर्मचारी लगायतलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा राख्ने जानकारी दिएको हो।
बालिकामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले सार्वजनिक सूचना निकाल्दै बालिकाको प्राइमरी कन्ट्याक्टमा आएकाहरुको पिसिआर परीक्षण भइरहेको जानकारी पनि दिएको छ।
कपिलवस्तुकी ती बालिका वैशाख ३० गते भर्ना भएकी थिइन् । बालिकालाई अहिले आइसोलेसन क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा काठमाडौं ल्याउने आफन्तसहित ७५ जनाको थ्रोट स्वाब समेत संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।