सुर्खेत : सुर्खेतका ४३ जना पत्रकारको कोरोना परिक्षणका लागि नोजल स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा पत्रकारको कोरोना परिक्षण गरिएको हो ।
महामारिको बेला पनि अग्र पंतीमा रहेका सूचना प्रवाह गरिरहेका पत्रकारको कोरोना परिक्षण आवश्यक भएपछि स्वाव संकलन गरी पठाइएको महासंघ केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले बताएका छन् ।
अन्य प्रदेशमा पत्रकारलाई पनि कोरोना संक्रमण भएको पाइएपछि सामाजिक विकास मन्त्रालय र जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाव संकलन गरेका हुन् ।
सुर्खेतको सिमाना जोडिएको बाँके र बर्दियामा देखिइसकेको र प्रदेश राजधानी सुर्खेतमा सञ्चालन हुने प्रदेश सभाको समाचार संकलनमा समेत कोरोना परिक्षण आवश्यक देखिएकाले परिक्षण गरिएको महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले बताए। उनका अनुसार छुटेका पत्रकारहरुको अर्को दिन स्वाव संकलन गरिनेछ ।
कर्णालीका दश वटै जिल्लामा पत्रकारको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताए । परिक्षणको रिपोर्ट बिहिबार आउने स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननीधि वाग्लेले बताए ।