सुर्खेत : कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ ।
नेपालमा बुधबार साँझ ५ बजे सम्म २१९ जनामा कोरोना संक्रमण देखिएको छ । आजैमात्र धनुषामा २ र कपिलवस्तुमा १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै, मंगलवार (हिजो) मात्रै नेपालमा एकैपटक ८३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । एकैदिन यति धेरैको संख्यामा कोरोना संक्रमित थपिएपछि लकडाउनमा थप कडाई गरिएको थियो ।
गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबार देखि विभिन्न ४४ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप बढेको छ ।
यता कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै कर्णाली प्रदेश सरकारले पनि गत बैसाख २२ गते कर्णाली भित्रिने सबै नाका एक हप्ता सिल गर्ने निर्णय गरेको थियो । यद्यपी नाका सिल अनिश्चितकालिन भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशको राजधानी सुर्खेतमा लकडाउनको ५१ औं दिनमा विहानको समयमा चहलपहल केही देखिएको थियो । हप्ताको ३ दिन अर्थात सोम, बुध र शुक्रबार विहान ७ देखि ९ बजे सम्म अत्यावश्यक सामग्री खरिद विक्रिका लागि समय दिइएकाले केही चहल पहल भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढे संगै कर्णालीमा थप सजगता अपनाउनुपर्ने देखिएको छ ।