काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखाउँदै पत्रकार प्रवेशमा कडाइ गरेको हो । अब मन्त्रालयमा कसलाई भेट्ने हो त्यो मानिसलाई कुरा गरेर कन्फर्म गरेपछि मात्रै मन्त्रालयमा छिर्न पाइनेछ ।
अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्की र प्रवक्ता डा। विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।
मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् ।
मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले सञ्चारकर्मीले समाचारका लागि प्रवक्तासँग समन्वय गर्नुपर्ने बताए । उनले भने, “कोरोना संक्रमण बढेसँगै काठमाडौंमा पनि कोरोना संक्रमण देखिएपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो ।” उनले भने कोरोना जोखिम बढेको छ तर मन्त्रालयमा आउने संख्या नघटेपछि प्रवेशमा कडाइ गरिएको जानकारी दिए ।
मन्त्रालय स्रोतका अनुसार सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्ने उच्च अधिकारीहरूको बैठकले निर्णय गरेको छ ।