सुर्खेत : भारतले नेपाली भूमिमा सडक खनेकोप्रति क्षत्री समाज नेपालले आपत्ति जनाएको छ । लामो समयदेखि विभिन्न क्षेत्रमा सिमा रेखालाई नाघेर भारतीय पक्षबाट नेपाली भूभागमाथि कब्जा जमाउने, नेपालीलाई आफ्नो घरबाट खेद्ने, सिमा रेखा क्षेत्रमा अग्ला बाँधहरु ठड्याएर नेपाली भूभागलाई डुवानमा पार्ने जस्ता अत्यन्त अमानवीय, दुव्र्यवहारपूर्ण र खेदजनक कार्यहरु हुँदै आएका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षत्री समाज नेपालले कुनै पनि हालतमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने गरी कुटिनीतिक पहल थाल्न सरकारलाई अनुरोध गरेको छ l
पुस्ताले रगतको बलिदान दिएर बचाएको भूमिमा भारतको नाङ्गो हस्तक्षेप बिरुद्ध सम्पूर्ण नेपाली एक हुन क्षत्री समाज नेपाल, केन्द्रिय कार्यासमितिले अनुरोध गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने प्रशस्त प्रमाणहरु हुँदाहुँदै पनि वर्तमान सरकार मौन बसेकोप्रति क्षत्री समाज नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यसैगरि भारतले नियतबस मिति २०७६ साल कार्तिक १७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई विधिवत् रुपमा आफ्नो देशको नक्शामा राखी प्रकाशन गरि एक सार्भोम राष्ट्रको अस्मिता माथि नाङ्गो एवं निर्लज्ज प्रहार गरेको थियो नै अझै त्यस माथि अनधिकृत रुपले नेपालको भुमि प्रयोग गरि कैलाश मनोसरोवर जाने बाटो निर्माण गरि थप मिचाहा प्रवृति देखाएको बताईएको छ l
‘भारतले सन २००८ देखिनै सडक निर्माण सुरू गरि यहीँ बैशाख २६ गते उद्घाटन गरिसक्दा समेत नेपाल सरकारको ध्यानाकर्षण हुन नसक्नु गैर जिम्मेवार एवम् नालायकीपन हो’ अध्यक्ष डा. दिलबहादुर क्षति एवं महा-सचिव केसबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘क्षत्री समाज नेपालले भारत सरकारको उक्त कदमप्रति घोर भ्रत्सना गर्दछ ।’