धनगढी : बर्दियाकी कोरोना संक्रमित ११ बर्षीय बालिका कैलाली स्थित आफन्तको घरमा बसेर फर्किएको खुलेको छ। राजापुर नगरपालिका–५ बर्दिया की ११ वर्षीया ती बालिका कैलालीको भजनी नगरपालिकामा आफन्तको घर बसेर फर्किएको खुलेको हो। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी बर्दियाबाट चैत ५ गते कैलाली आएर बैशाखमा बर्दिया फर्किएका थिईन्। कैलालीबाट फर्किएलगत्तै उनलाई क्वारेन्टिनमा राखिएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले बताए।
बर्दियामा उनीसँग सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको अर्यालले बताए। बालिकामा संक्रमण देखिएकाले अरु संक्रमितबाट उनमा सरेको हुन सक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले छिमेकी बाँके र कैलालीमा कोरोना संक्रमित भेटिएपछि यसअघि नै दुवै जिल्लासँग जोडिएको सीमा सिल गरिसकेको छ।
सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या एक सय ३४ पुगेको छ।