बाँके : नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि शनिबार कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
उनका अनुसार कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै धार्मिकस्थलमा निगरानी थालिएको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको नेतृत्वमा मन्दिर, मस्जिद र चर्चको अनुगमन गरिएको छ । कोहलपुर – १२ चपरगौडीमा रहेको रामजानकी राधाकृष्ण गुरुकुल र वडा नं ६ मा रहेको आनन्द एजी मण्डली चर्चका अवस्थाका बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा रामजानकी राधाकृष्ण गुरुकुलमा १५ विद्यार्थी र चार शिक्षक गरी १९ जनालाई कोरोना सङ्क्रमण र यसबाट बच्चे उपायबारेमा परामर्श गरिएको थियो । आनन्द एजी मण्डली चर्च सञ्चालनमा नआएको भेटिएको छ ।
५६ स्वाबको रिपोर्ट नेगेटिभ
भेरी अस्पताल नेपालगञ्जको आरटिपिसिआर यन्त्रमा परीक्षण गरिएको ५६ स्वाब रिपोर्ट नेगेटिभ आएको छ। खजुरा र नेपालगञ्जमा सङ्कलित ४८ र शिक्षण अस्पताल नेपालगञ्जले सङ्कलन गरी दिएको आथ नमूनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार वैशाख २५ गते नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाब सङ्कलन गरिएको थियो । खजुराका रनियापुर, सोनपुर र उढरापुरमा पाँचपाँच तथा डिगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एक एक जनाको स्वाब सङ्कलन गरिएको थियो । नेपालगञ्जको गुरुद्वारा अगाडि ३० जनाको स्वाब लिइएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
जनप्रतिनिधिको कोरोना परीक्षण
कोरोना सङ्क्रमण बढ्दै जाँदा शनिबार नेपालगञ्जका जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको छ । नगर प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगरसहित वडाध्यक्षको कोरोना परीक्षण गरिएको हो । नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको एक साताभित्रै सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । हालसम्म १३ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण देखिएको र उक्त सङ्ख्या अझै बढ्न सक्ने भन्दै सबैलाई सचेत रहन नगर प्रमुख राणाले आग्रह गरे।
रासस