काठमाडौँ : निषेधित क्षेत्र सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। आफ्नो देशमा जान पाउनुपर्ने भन्दै उनीहरुले सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।
लकडाउनको समय र त्यसमाथि निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेको प्रहरीले जनाएको छ। चिनियाँ नागरिकको ढुंगा प्रहारबाट महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका छन्।
४ जना चिनियाँ नागरिक पनि घाइते भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेको बताए।
घटनामा प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ। यसअघि प्रहरी नियन्त्रणमा रहेका अन्य ४३ जनालाई चाहिँ प्रहरीले रिहा गरिसकेको छ ।
प्रहरीका अनुसार नेपालस्थित चिनियाँ राजदूतावासले पनि प्रदर्शन गर्ने आफ्नो देशका नागरिकमाथि कानुनी कारवाही गर्न अनुरोध गरेको छ ।
शुक्रबार नै उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै चिनियाँ दूतावाससँग आग्रह गरेका छन्। त्यसपछि नेपाल पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका उनीहरु अन्त्यमा सिंहदरबार गेटमा प्रदर्शनमा उत्रेका थिए। हाल महानगरीय प्रहरी कार्यालयमा राखिएका उनीहरुबारे अनुसन्धान भैरहेको पोखरेलले जानकारी दिए।