धनगढी : किट सकिएपछि धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ। धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण बन्द भएको हो।
गयराती चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि आज परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ। पीसीआर बिधीबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गरेको छ।
पीसीआर किटको मौज्दात भएपनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ। अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ।
किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढिको अहिले सम्म नमूना परीक्षण गर्न सकिएको छैन्। धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन बन्द गरिएको थियो।
किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन्।
यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै भोली सम्म संघीय सरकारले पठाउने जानकारी आएको बताए।