सुर्खेत : नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुुर खड्काले छिमेकी प्रदेशहरुमा देखिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सुरक्षित हुने वातावरण मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
सोमवार आफ्नो फेसबुकमा लेख्दै महामन्त्री खड्काले कर्णाली प्रदेशको दक्षिण नाकातर्फ रहेको प्रदेश ५ मा एकैपटक धेरैमा देखिएको कोरोना संक्रमणले कर्णाली प्रदेशका लागि पनि खतराको घण्टी बजेको भन्दै यसमा ध्यान दिन आग्रह गरेका छन् ।
‘कर्णाली प्रदेशको मुल प्रवेशद्वार बाँकेमा एकैपटक डरलाग्दो रुपमा समुदायमा देखिएको कोरोना संक्रमणको विस्तारको अवस्थालाई हेर्दा कर्णाली प्रदेशमा ठूलो जोखिम पर्ने देखियो । हामीले एकताबद्ध र बुद्धिमतापूर्ण तरिकाले यसबारे सोच्नुपर्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
दक्षिणतर्फबाट हुन सक्ने कोरोनाको संभावित संक्रमणको आकलन गरी सोहीबमोजिम व्यवस्थापन र सतर्कतातर्फ समयमै ध्यान दिन महामन्त्री खड्काले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
यसअघि दक्षिणतर्फबाट कर्णाली प्रदेशमा प्रवेश गरेका नागरिकको द्रुत गतिमा कोरोनासम्बन्धी परीक्षण गर्न पनि उनले आग्रह गरेका छन् । उनले आरडिटी परीक्षणको भर नपरी अनिवार्य पिसीआर प्रविधिबाट परीक्षण गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
यस्तै प्रदेशको दक्षिणमा रहेको बबई नाका र पश्चिममा रहेको कुईने नाकामा व्यवस्थित क्वरेन्टिनको प्रयोग गर्न पनि महामन्त्री खड्काले आग्रह गरेका छन् । प्रवेश द्वारहरुमा परीक्षणको भरपर्दो व्यवस्थापन गर्न, अत्यावश्यक अवस्थामा कसैलाई जान वा आउन दिनुपर्ने भएमा अनिवार्य परीक्षण गरेर मात्र आवतजावत गर्न दिन पनि उनले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।