एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोभिड-१९ को खोप तयार भइसक्ने बताएका छन्। उनले सन् २०२१ नआउँदै भ्याक्सिन आइसक्नेमा आफू निकै विश्वस्त भएको बताएका हुन् ।
फक्सन्युज टेलिभिजनलाई दिएको अन्तरवार्तामा ट्रम्पले उक्त भविष्यवाणी गरेका हुन्। अन्तरवार्ताका क्रममा दर्शकले सोधेका धेरै प्रश्नको जवाफ पनि उनले दिएका थिए।
कोभिड-१९ को खोपबारे सोधिएको प्रश्नमा उनले भने, ‘यस वर्षको अन्तिमसम्ममा खोप मानिसले खोप पाउन थाल्नेमा मलाई भरोसा छ।’
विद्यालयहरू खोल्नेबारेमा सोधिएको प्रश्नमा ट्रम्पले बढी उमेरका शिक्षकहरूको स्वास्थ्य सुरक्षा चिन्ताको विषय बनेको बताए। ‘तर, स्कुलहरू खोल्नु त पर्छ नै,’ उनले भने।
अन्तरवार्ताका क्रममा उनले विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूको आलोचना गरे। ‘यस भाइरसको अवस्था खराब भयो भने मात्र उनीहरूको राजनीतिक हितमा हुनेछ,’ उनले भने।
हाइड्रोक्सिक्वारोक्वाइन औषधी निर्माता कम्पनीमा आफ्नो सेयर नभएको उनले प्रष्ट्याए। ‘त्यसैले यसको प्रयोगमा कुनै हानी छैन,’ उनले भने।