काठमाडौं : व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा उनी रिहा भएका थिए । महानगरीय प्रहरीले परिसर काठमाडौंले सम्पत्ति शुद्विकरण मुद्दामा अग्रवाललाई पक्राउ गरेको हो।
जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतबाट रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गर्नु अदालतको अपहेलना भएको अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले बताए। कुनै पनि पक्राउ पुर्जि नलिएर अदालत परिसरबाटै पक्राउ गर्नु कानूनको उपहास भएको उनले बताए।
अग्रवालविरुद्ध कलोबजारी तथा सामाजिक अपराध अन्तर्गत तीन वटा मुद्दा दार्ता भएको अधिवक्ता कोइरालाले बताए। अदालतले प्राप्त प्रमाणको आधारमा जेष्ठ १८ गते अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरेपनि विना पूर्जी प्रहरीले पुनः पक्राउ गरेको उनको भनाइ छ। अग्रवाललाई गत चैत २५ गते ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँ बेच्न खोजेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो।