चुप
चुप !
चुप चुप !
विल्कुल चुप !
कोरोनाको डर बोक, सबै डराउ
त्रासको बीउ रोप आतंक फैलाउ
मुसा जस्तै भएर दुला दुलामा पस
अपराधी बन्दी झैँ भएर घरमा बस ।
आगो बाल खाना बनाउ टन्न खाउ
चामल पिठो छैन भने बरु नखाउ
तर भोकको बहानामा बाहिर नजाउ
लठ्ठी समाएका पुलिसलाई नसताउ ।
जो जहाँ छ त्यहीँ सुत कोही कसैलाई नछोउ
हल्ला गर्दै नगर बरु साबुनपानीले हात धोउ
कोरोनाको ‘बोसिय र फ्याटिय’ पदार्थ धोइ पखाल
समाचार सुनेर पत्याउ मनमा रत्ती शंका नपाल
बिरामी हुँदा तातोपानी खाउ लापरबाही नगर
अन्य रोगले त जेसुकै होस तर कोरोनाले नमर ।
कुर्सी जोगाउन र फुत्काउन दौडधुप गर्ने नेतालाई
हुल बाँधेर जिन्दावाद मूर्दावाद भन्ने कार्यकर्तालाई
समाउन सक्दैन कोरोना हावामा विलाउँछ हराउँछ
राजनीतिमा त्यत्रो ताकत हुन्छ भाइरस पनि डराउँछ ।
कोरोनाले निमुखालाइ पिर्छ राजनीतिलाई छुन्न
तर साजिस पो होकि भनी मनमा संसय लिन हुन्न
चुप ! स्तब्ध बनाउ आफ्ना सबै तर्कना र भावना
मनभरी डराउ आबुइ कोरोना आबुइनि कोरोना !
-उमालाल अचार्य
वीरेन्द्रनगर १२, नेवारे सुर्खेत ।
असाध्यै समसायिक यथार्थपरक कविता । कवि उमालाल अाचार्य खास गरी रङ्गकर्मी (नाटक लेखक निर्देशक र अभिनेता ) हुन् । उनी कथा लेखनमा पनि उत्तिकै प्रखर छन् । पछिल्लाे समय उनकाे कलम कविता विधामा पनि उत्तिकै तिखारिदै अाएकाे देखिन्छ । गद्य कविताबाट कविता लेखनमा छिरेका उनी अचेल अन्त्यानुप्रासयुक्त माैलिक छन्दमा लेख्न खप्पिस लाग्छन् । प्रस्तुत कविताले एकातिर काेराेना भाइरसकाे अातंक अनि मुलुक भित्रकाे राजनीतिमा देखा परेकाे विचलनले जन साधारणमा छाएकाे भय र निराशालाइ सटिक र मार्मिक पाराले अभिव्यक्त गरेकाे छ । बुनाेट ,बनाेट र भाव सम्प्रेशणकाे हिसावले अव्वल प्रस्तुत कविता सरल सरस र गहन पनि छ । कवि अाचार्यकाे लेखनी अझै तिखारिदै जाअाेस् । धन्यवाद