धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरीका जिल्लामा उत्पादित खाद्य सामग्री अन्य प्रदेशमा निर्यात नगर्न निर्देशन दिएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको निर्णय अनुसार भविष्यमा हुनसक्ने खाद्य संकटलाई दृष्टिगत गरी प्रदेशका जिल्लाहरुमा उत्पादित खाद्य वस्तु बाहिर निर्यातमा रोक लगाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिइएको जनाइएको छ ।
बैठकले बाहिरबाट प्रदेशमा भित्रिने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सेवा निर्देशनालयले बनाएको मार्गदर्शन बमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, महेन्द्रनगरको गड्डाचौकी र धनगढीको त्रिनगर भन्सार नाका हुँदै भित्रिने मालबाहक र प्रदेशभित्र चल्ने बस तथा अन्य अत्यावश्यकीय सवारी साधनमा नियमित रूपमा स्यानिटाइजको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
यस्तै कोरोनाको परीक्षण प्रयोगशालामा देखिएको जनशक्तिको अभाव पूर्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।