काठमाण्डौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा रहेको कानूनी व्यवस्थाविपरित आफ्ना पूर्व महानिरीक्षक र सत्तारुढ दलका सांसद विरुद्ध आएको अपहरण सम्बन्धी कसुरको जाहेरी फिर्ता गरेका छन् ।
परिसरका एसपी सोमन्द्र सिंह राठौर र डीएसपी कृष्ण चन्दले कार्यविधिको परिच्छेद २ को दफा ९ अनुसार जाहेरी लिएर सम्बन्धित प्रहरी इकाईमा पठाउन सकिने भएपनि जाहेरीकर्तालाई ुमिल्दै नमिल्नेु भनेर फिर्ता गरेका हुन् ।
जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहितको टोली आईतबार जाहेरी दर्ता गराउन परिसर कार्यालय टेकु पुगेको थियो । जाहेरी दर्ता नभएपछि नेताहरू फर्किएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ९ मा जाहेरी वा अपराधको सूचना तत्काल दर्ता गर्न सम्भव नभएका नजिकको प्रहरी कार्यालयमा दिन सक्ने व्यवस्था गरेको छ । त्यस्तो सूचना वा जाहेरी सम्बन्धित प्रहरी कार्यालयले तीन दिनभित्र तोकिएको इकाईमा पठाउनु पर्ने हुन्छ ।
जनता समाजवादी पार्टी नेपालले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा संघीय सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, सांसद किसन श्रेष्ठ र निर्वतमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा लिएर गएको हो । तर प्रहरीले घटनास्थल महोत्तरी भएकाले उता जाहेरी दिन भन्दै लिन मानेन ।
पार्टीका शीर्ष नेताहरू डा। बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, सरदसिंह भण्डारी, अशोक राई र पीडित सुरेन्द्र यादव नै महानगरीय प्रहरी परिसरमा पुगेर जाहेरीको प्रक्रिया अघि बढाउन खोजेका थिए । निर्वतमान महानिरीक्षक खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठले यादवलाई गएको बुधबार महोत्तरी घरबाट अपहरण गरेर काठमाडौं ल्याई मेरियट होटलमा रातभर बन्धक बनाएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा उल्लेख गरिए अनुसार समाजवादी पार्टी विभाजनका लागि सांसद यादवको अपहरण गरिएको थियो ।
बस्नेत, श्रेष्ठ र खनालले महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीको सहयोगमा बर्दीबासस्थित होटल गौतममा अपहरणको योजना बनाएर सांसद यादवलाई काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले घटनास्थल महोत्तरी भएकाले यहाँ जाहेरी लिन प्रक्रिया नपुग्ने दाबी गरे । तर हालको मुलुकी फौजदारी संहिताले गंभिर अपराधको जाहेरी प्रहरी प्रधान कार्यालयमा समेत दिने प्रावधानको व्यवस्था गरेको छ । प्रहरीले घटनाका मतियारका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली समेत तानिने भएपछि पन्छिन खोजेको हो । हिमाल खवर डटकम