काठमाण्डौं : चौतर्फी दबाबपछि सरकारले हालै ल्याएका दुई वटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
राजनीतिक दल र नागरिक स्तरबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक बैठक बोलाएका थिए। केहीवेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।
सरकारले वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन सजिलो हुने व्यवस्था गरिएको थियो भने संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता नहुँदा पनि निर्णय गर्न सकिने व्यवस्था संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा गरिएको थियो।
मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। संविधानको धारा १४४ को उपधारा ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।