ईश्वर तामाङ /राजधानी दैनिक/ उदयपुर : उदयपुरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरू सबै त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति हुन् ।
मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा आठ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना देखिएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ र नेपालमा संक्रमित हुनेको संख्या ४१ पुगेको छ । जसमध्ये पाँच जना निको भएर घर फर्किएका छन् ।
गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकामा नौ जनामा कोरोना देखिएको हो । सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको थियो । जसमध्ये एक जनामा कोरोना पुष्टि भएको हो । उनी पनि मुस्लिम समुदायकै हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले भुल्केको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि शनिबार विराटनगर लगिएको र संकलित नमूनामध्ये आठ जनामा संक्रमण पुष्टि भएको बताए । उनले अन्य ६१ जनाको नेगेटिभ देखिएको बताए । कोरोना पोजिटिभ देखिएकालाई पुनः परीक्षण गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
उनीहरू सबैलाई उदयपुरबाट परीक्षणका लागि एम्बुलेन्समा धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमण देखिएका भनिएका व्यक्तिहरू सबै वयस्क पुरुष हु्न् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख ९एसपी० वीरबहादुर बुढा मगरका अनुसार भुल्केबाट दुईवटा एम्बुलेन्समा राखेर उनीहरूलाई धरान पठाइएको बताए ।
मस्जिदमा बसेका धर्म प्रचारक धर्म गुरु जमातीहरू गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो । मस्जिदनजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ ।
जामे मस्जिदमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरूलाई विराटनगरस्थित ९कोभिड–१९० उपचार केन्द्रमा राखेर उपचार गरिँदै छ । उनीहरूसँगै ल्याइएका तीन जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
मस्जिदमा रहेको धर्म गुरु जमातीहरूलाई कोरोना संक्रमण भेटिएपछि प्रदेश सरकारले भुल्केस्थित मुस्लिम समुदायका ५६ घर परिवारमध्ये घरमुलीको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यसमा २ महिलासहित ६९ जनाको स्वाब परीक्षणका लागि संकलन गरी विराटनगर लगिएको थियो । ६९ जनामध्ये नौ जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परीक्षणपछि आठ जनामा संक्रमण भेटिएको हो । उनीहरू ट्याम्पो, अटो चालक तथा दूध र तरकारी व्यापारी हुन् । स्थानीय प्रशासनले संक्रमित क्षेत्र लगायत उदयपुरका ६ वटै मस्जिद यतिखेर सिल गरेको छ ।
कोरोना प्रभावित क्षेत्रका १५ घर थारू समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरी ४ सय २१ घर परिवार रहेको भुल्केलाई सिल गरिएको हो । त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् भने त्यहाँ जान पनि निशेष गरिएको ९एसपी० वीरबहादुर बुढा मगरले बताए । त्यसले पनि स्थानीयवासीमा झन् त्रास बढेको स्थानीय यदु ढकालले जानकारी दिए ।
उनले भने, ‘यहाँको तरकारी गाईघाट बजार तथा आसपासको क्षेत्र प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डामा समेत जाने गरेको छ ।’
तिनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू सप्तरीको बोदेबसाइन नगरपालिका–५ जाँजरमा ३–५ फागुनमा भएको नेपाल इज्तीमा सहभागी हुन आएको देखिएको छ । उनीहरू भारतको जोगबनी हुँदै विराटनगर, दुहबी, इटहरी, इनरुवा, राजविराज हुँदै बोदेबसाइन नगरपालिका–५ जाँजरमा भएको सम्मेलनमा सहभागी भई स्थानीय मस्जिदहरूमा धार्मिक प्रवचन दिई कञ्चनपुर, फत्तेपुर, सिवाई हुँदै भुल्के आएको बुझिएको छ ।
राजधानी दैनिक बाट साभार