सुर्खेत : कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबार (७ वैशाख) देखि धार्मिक गतिविधि बन्द गरेको हो ।
मस्जिदले इमाम तथा मोहोजिमबाहेक अन्यलाई संयुक्त रुपमा नमाज पढ्न बन्द गरेको हो । वीरेन्द्रनगरस्थित बढी भीडभाड हुने अन्य धार्मिकस्थल भने लकडाउन लागू भएदेखि नै बन्द थिए । जिल्ला प्रशासनले मन्दिर र चर्चमा निगरानी बढाए पनि मस्जिद खुला थिए । यहाँ दुई मस्जिद छन् ।
नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्र सुर्खेतले सबैलाई घरमै नमाज पढ्न व्यवस्था मिलाउनुका साथै शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने भीडभाड नगर्न मुस्लिम समुदायलाई अपिल गरेको छ ।
मदिना अध्ययन केन्द्रका अध्यक्ष फजिर बक्सलाई उद्धृत गर्दै राससले जनाएअनुसार पछिल्लो समय जिल्ला बाहिरबाट कुनै पनि धार्मिक व्यक्ति प्रवेश गरेका छैनन् । कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न अपिल गरिएको भन्दै अध्यक्ष बक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक परेको खण्डमा मदरसालाई क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार छौँ ।’
रासस