चितवन : शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि चितवनको राप्ती नगरपालिका वडा नं.८ लाई शिल गरिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिम बढेकोले प्रशासनलाई आग्रह गरी वडालाई नै शिल गरिएको हो । नगरपालिकाकी प्रमुख प्रभा बरालले मुख्य राजमार्गसंग जोडिएको सबै बाटो बन्द गरी कोरोना संक्रमितसंग को–कसको भेट भयो भन्ने बारे खोजी कार्य जारी राखेको बताइन् ।
यस्तै वडा नंं. ८ का शंकास्पद व्यक्तिहरुलाई सोही वडाको क्वारेन्टाइनमा राखिने भएको छ । नगरपालिकाले ब्रहम्मानगर स्कुलमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाद्यान्नको जोहो गर्ने काम भइरहेको नगर प्रमुख बरालले बताइन् । सो क्वारेन्टाइनमा २०० जनालाई राख्न सक्ने क्षमता रहेको उनले बताइन् ।
सोही वडाका बेलायतबाट आएका ६३ वर्षीय महिला र २७ वर्षीय पुरुषको हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै राप्तीसंगै चितवनमै उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमित पुष्टि भइसकेकाले जिल्लामा उच्च सतर्कता अपनाइएको बताए ।