काठमाण्डौं : नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्।
शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मस्जिदमा रहेका १२ जना भारतीय नागरिकको कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको हो ।
उनीहरुको थप परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको छ। उनीहरु सबैलाई प्रदेश १ को कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
त्यस्तै, चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। यिमध्ये एकजना निको भइसकेका छन्।