एजेन्सी : विश्वब्यापी महामारीका रुपमा रहेका कोरोनाको संक्रमण दर र मृत्यु हुनेके संख्यामा अझै कमी आएको छैन । कोरोनाका कारण प्रत्येक दिन हजारौ संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
कोरोनाका कारण विश्वभर अहिले सम्म १ लाख १९ हजार बढीले ज्यान गुमाइसकेका छन् । विश्वभर मृतकको संख्या १ लाख १९ हजार ५ सय ८७ रहेको छ भने १९ लाख २३ हजार भन्दा बढी संक्रमित रहेका छन् । यसवाट विश्वभर ४ लाख २३ हजार भन्दा बढी मानिसहरु निको समेत भैसकेका छन् । कोरोना भाइरको इपिसेन्टर रहेको अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या २३ हजार बढि पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १५ सय भन्दा बढीको ज्यान गएको छ ।
त्यहाँ जम्मा मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ । यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ । इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ ।
त्यहाँ संक्रमितहरुको संख्या १ लाख ६० हजार पुगेको छ । कोरोनाका कारण स्पेनमा १७ हजार भन्दा बढीको ज्यान गएको छ । बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ भने त्यहाँ पछिल्लो २४ घण्टामा ७ सय १७ जनाको ज्यान गएको छ । पछिल्लो समय नेपालमा पनि कोरोनाका संक्रमितहरु फेला पर्ने क्रम बढेको छ ।
सोमबार मात्रै कैलाली र रौतहटमा गरी २ जना नयाँ संक्रमित फेला परेसंगै नेपालमा संक्रमितको संख्या १४ पुगिसकेको छ । जसमध्ये एक जना उपचार पछि निको भएर घर फर्किएका छन् ।