रौतहट : रौतहटको इशनाथ नगरपालिकाका एक युवकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
इशनाथ नगरपालिका– ५, मोतीपुर घर भएका उनी भारतको दिल्लीबाट औषधि बोक्ने ट्रक चढेर बिहारको मोतिहारीसम्म आएका थिए । त्यहाँबाट पैदलै १६ चैतको बेलुकी घर आएका उनलाई १७ चैतको बेलुकी सुरक्षाकर्मीको सहयोगमा इशनाथको औरैया माविमा रहेको क्वारेन्टाइनमा ल्याइएको थियो ।
औरैयास्थित क्वारेन्टाइनमा २७ जना पुरुष र तीनजना महिला रहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अन्दकिशोर गुप्ताले जानकारी दिए । औरैया नाकाबाट अझै पनि चोरबाटोहुँदै नेपाली नेपाल प्रवेश गर्ने गरेको पनि उनको भनाइ छ ।
सोमबार कैलालीमा एक महिला र रौतहटका एक युवामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पहिलो संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।