सुर्खेत : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिले देश ‘लकडाउन’को अवस्थामा छ । चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको उक्त ‘लकडाउन’ सुरुमा ७ दिनका लागि घोषणा गरिएको थियो । अहिले त्यसलाई २ पटक बढाएर बैशाख ३ गतेसम्म पुर्याइिएको छ । लकडाउन हुँदा दैनिक ज्याला मजदुरी गरेर खाने नागरिक, बाढीपिडित र सुकुम्बासीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । उनीहरुलाई साँझ बिहानको छाक टार्नसमेत मुस्किल भइरहेको छ । यस्तो बेला उनीहरुलाई सहयोगीहरुको खाँचो छ । कोरोना संक्रमणका कारण अहिले मानिसहरु घर बाहिर आउँदैनन् । यस्तोमा नेपाल तरुण दल सुर्खेतका अध्यक्षसमेत रहेका कलाकार, युवा व्यवसायी दैनिक विपन्न, ज्याला मजदुरी गरेर खाने परिवार, बाहिरी जिल्लाबाट आएर बसिरहेका विद्यार्थीलगायत जो समस्यामा छन् उनीहरुलाई राहत पु¥याउन व्यस्त छन् । लकडाउनमा राहत वितरण गर्दाका अप्ठ्यारा, सरकारी नीति र समस्यामा परेका नागरिकहरुको विषयमा हरि बिष्टसँग गरेको कुराकानी :
तपाईले कहाँ–कहाँ कस्ता व्यक्तिलाई सहयोग गर्नुुभयो ? सहयोग गर्न कत्तिको सहज छ ?
सहयोगका लागि जहाँबाट फोन आउँछ त्यहीँ सहयोग पु¥याउन जान्छु । वीरेन्द्रनगर, कर्णाली, सुदूरपश्चिम प्रदेश, ५ नम्वर प्रदेश र भारतका नागरिकलाईसमेत मैले सहयोग गरेको छु । यसैगरी स्वदेशी, विदेशी, मजदुर, सुकुम्वासी, बाढीपीडित, सुरक्षाकर्मी, सबै पार्टीका भातृ संगठन, खेलाडी, कलाकार, दृष्टिबिहिन, मृगौला पीडित, मेरुदण्ड भाँचिएका, बहिरा, अपाङ्ग, भाडामा बसेका विद्यार्थी जसले फोन, म्यासेज र कमेन्टमा जानकारी दिएकै आधारमा आवश्यकता अनुसार सहयोग गर्ने गरेको छु । बिरामी, कलाकारलाई आवश्यकता अनुसार सहयोग गर्ने गरेकोे छु । जुनसुकै देशका नागरिक समस्यामा परेकालाई मैले सहयोग गर्ने विचार छ । सहयोग गर्न अप्ठारो छ । राज्यले बनाएको एकद्धार नीति राहतका लागि बनाएको हो । तर सहयोगका लागि होइन् । राहत र सहयोगलाई एउटैमा दाँज्दा समस्या भएको छ ।
देश अहिले लकडाउनको अवस्थामा छ । काम गरेर खाने अवस्था छैन् । तपाईंले यस्तो परिस्थितिमा अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गरिरहनु भएको छ ? किन ?
लकडाउनका कारण अप्ठारो मलाई पनि छ । तर, यहाँ भोकभोकै नागरिक मर्नुपर्ने बेला आएकोले आफ्नो गास कटाएर सहयोग गरिरहेको छु । यहाँ आज पनि मानिसहरु सरकारले दिने राहतको पर्खाइमा भोकै छन् । भोक लागेको बेला खान नपाउनु भनेको लगनपछिको पोते र मृत्युपछिको औषधि जस्तै हो । राज्यले कुनै मानिससँग व्यक्तिगतरुपमा पार्टी र आस्थामा नहेरी सबैबाट सहयोग लिन आवश्यक छ ।
तपाईले गर्नु भएको सहयोगको मानिसहरुले प्रचार गर्नका लागि भन्ने जस्ता आरोप लगाएका छन् । यसमा तपाईंको धारणा के छ ?
मलाई कुनै प्रचार गर्नु छैन । म आफैंमा कलाकार, नायक, खेलाडी, गितकार, संगीतकार हुँ । मेरो अहिले स्वदेश र विदेशमा त्यसै चर्चा छ । जसको प्रमाण मेरा युट्युवमा भएका कृतिहरु चलचित्र र गितका भिडियोहरु हुन् । यदि धेरै चर्चा कमाउनु नै थियो भने धेरै माध्यमहरु छन् ।
तर यो विषम परिस्थितिमा मानविय सद्भाव कायम गर्नका लागि मैले सहयोग सुरु गरेको हुँ ।
तपाईँले सोधेको प्रश्न जस्तै मैले फेसबुक लाइभ गरेको आधारमा कसैले प्रचार गर्न खोजेको भनेका होलान् । तर लाइभ गर्नुको अर्थ राज्यलाई जानकारी र पिडितलाई थप सहयोग होस भन्नका लागि पनि हो । यो महांमारीका बेला आफ्नो ज्यान जोखिममा राखेर घरको सम्पत्ति रित्याउँदै गाउँ–गाउँ दौडेको यो भन्दा ठुलो के नै प्रचार होला र मेरा लागि । मलाई मर्नसँग डर छैन म साहसीक छु किन की म खेलाडी हुँ । म कसैको दुःख देख्न सक्दैन छिट्टै भावनामा बग्छु किनकी म कलाकार हुँ । यसमा मेरो धारणा भनेको राहत र सहयोगमा फरक छ । मैले बाँडेको चाहिँ राहत होइन सहयोग हो । राज्यले एकद्धवार प्रणाली नीति बनाएको सहयोगको होईन राहतको हो । राज्यले खडा गरेको कोष राहतका बाँड्दा दोहोरोपना नहोस् भन्नका लागि हो । राहत पाउने जनताको अधिकार हो । किन की जनताले कर तिरेर राज्यकोषमा जम्मा भएको पैसाबाट उनीहरुले राहत पाउने हुन् । तर सहयोग व्यक्तिगतरुपमा इच्छा लागेपछि गरिने चिज हो ताकी अधिकार होइन् । र राज्यले पनि त्यसमा लगाम लाउन मिल्दैन ।
सस्तो लोकप्रियताका लागि पार्टीका झण्डा समातेर होस वा एक किलो चामलमा दश जनाले हात छोएर फोटो खिचाएर सामाजिक सञ्जालमा अपलोड गर्दा राहत वा सहयोग लिने व्यक्तिको होइन दिने व्यक्तिको बदनाम भइरहेको हुन्छ । तर हाम्रो समाजले त्यति पनि सहयोग लियो भनेर उल्टै त्यहि अप्ठारोमा परेकै व्यक्तिकै खिल्ली उडाउँछ ।
आम नागरिक र मेरा सुभचिन्तकले पनि राहत र सहयोग फरक हो भन्ने बारेमा बुझ्न जरुरी छ ।
तपाइँले वितरण गरेको सहयोग कि राहत ? व्यक्तिगत कि सामुहिक के हो ?
मैले वितरण गरेको सहयोग हो । राहत भनेको राज्यकोषबाट वितरण हुने हो । जो हामी जनताले नै तिरेको करबाट बनाइएको कोषमार्फत खर्च हुन्छ । यो इन्सुरेन्स टाइपको सहयोग हो । सरकारका अंग, कर्मचारी र सरकारी संयन्त्रले कुनै पनि चिज जनतालाई दिन्छन् भने त्यो राहत हो । बाउले छोरालाई वा छोराले बाउलाई पाल्छ भने त्यो राहत हो । घरभित्र एकले अर्कालाई सहयोग गर्नु पनि राहत हो । राहतको फोटो र भिडियो खिच्नु गलत हो तर भर्पाइ गर्न जरुरी छ । किनकी राज्य भनेको अभिभावक हो जनता भनेका छोराछोरी हुन् । तर राज्य पक्षलै नै यसो ग¥यौं भनेर प्रचार गरिरहेका छन् । अभिभावकले छोराछोरीलाई पाल्नु कर्तव्य हो । यदि कुनै पनि अभिभावकले पालनपोषण र सहयोग गर्दा यसो गरे भनेर फोटो खिचि देखाउने चिज होइन । म एउटा कलाकार, खेलाडी व्यापारी र तरुणदलको अध्यक्ष हुँ । म एउटा कलाकार भएकोले भावनामा बगेकोले सहयोग गर्दा तरुण दलको अध्यक्षका रुपमा हेरिन्छ म त्यो मात्र होइन सबथोक हुँ । तर मैले विगतमा तरुणदलमा नहुँदा पनि विभिन्न व्यक्ति र निकायमा सहयोग गरेको छु । विगतमा मैले कुनै पनि फोटो खिच्न लाइभ भिडियो पनि गरिन तर मैले आजाभोली फेसबुक लाईभ गर्दा विरोध गर्नेहरु न आफुले सहयो गर्ने नअरुलाई गर्न दिनेहरु हुन् । मैले लाइभ गर्दा उसलाई थप सहयोग मिलोस, उसका आफन्तलाई जानकारी होस भनेर गरेको हो । मैले आफ्नो गासलाई कटाएर गरेको सहयोगको प्रमाण मात्र हो । किन की विज्ञानको युगमा त्यसको सदुपयोग गरेको मात्र हो । यो अप्ठारो परिस्थितिमा मैले व्यक्तिगतरुपमा दिएको राहत होइन सहयोग हो । अप्ठारोमा परेका जो कोहीले पनि लिन सक्छन् ।
र सामुहिक कुरामा संगठनको तर्फबाट पनि सहयोग गर्ने योजनाका साथ जिल्ला प्रहरी कार्यालयले, जिल्ला प्रशासनलाई, प्रशासनले नगरपालिकालाई, नगरले वडा अध्यक्षलाई वडाले नगरलाई देखाउँदै आलटाल गरेपछि राजनीतिक पुर्वाग्रहीले संगठनको तर्फबाट तत्काल भ्याली भित्र राहत बाँड्ने योजना असफल भयो । अनि व्यक्तिगतरुपमा सहयोग गरेको हुँ ।
यो अप्ठारो परिस्थितिमा समस्यामा परेका र अन्य नागरिकलाई के सन्देश दिन चाहानुहुन्छ ?
संसार भरिका मानव जाति जसका चार हातखुट्टा छन् । उनीहरुको भाषा नबुझीयला तर उनीहरुको आत्माको इसरा बुझिन्छ । भोक, तिर्खा, सबैको एउटै हो । त्यसैले यो बेला सरकारको मात्र भर नपरी सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्नु मानवीय धर्म हो । सबैले आ–आफ्नो छरछिमेक र टोलमा समस्या भएका व्यक्तिलाई सहयोग गर्न अपिल गर्दछु । सहयोग र राहत नदोहारिने गरि लिनु होला । तपाइँको व्यक्तिगत स्वार्थका कारण अन्य व्यक्ति जसलाई खाँचो छ उसको पेट भोको रहन सक्छ । यो अप्ठारो परिस्थितिमा सबैले हातमा हात मिलाई अगाडी बढ्न आग्रह गर्दछु ।