काठमाडौँ : हृदयघातका कारण मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी(लेफ्टिनेन्ट कर्नेल) रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ।
नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ती मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो । संयुक्त राष्ट्रसंघले जहाज चार्टर्ड गरेर पठाउन भनेपछि नेपाली सेनाले श्री एयरलायन्सको जहाज पठाएको हो।
“शव घरसम्म पुर्याउने सबै व्यवस्थापन यूएनले नै ब्यहोर्छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, “त्यसैअनुसार यहाँबाट जहाज गएको हो।”
जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। ।
‘सुडानबाट शव ल्याउने सबै जिम्मेवारी युएनले नै लिन्छ। अहिले लकडाउनको कारणले उडान अनुमतिका लागि प्रक्रिया मिलाउन ढिला भएको हो,’ पाण्डेले भने ‘विष्टको शब डाफोरबाट राजधानी खार्तुम ल्याइएको छ। भोलि दिउँसोसम्म शव आइपुग्छ।’
