काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिन यता कोरोना संक्रमित नभेटिएको जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमित नभेटिएको बताएका हुन्। उनले कोरोना प्रभावित सुदूरपश्चिमका जिल्लाका पाँच सय नमूना परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको बताए।
हालसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०१ र काठमाडौंबाहिर २२९ गरी ६३० जनाको कोरोना परीक्षण भएको छ।
कोरोना प्रभावित जिल्ला कैलालीमा ३३९ जनाको, कञ्चनपुरमा १३७ जनाको, बाग्लुङमा १९ जनाको र कपिलवस्तुमा २१ जनाको परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको देवकोटाले बताए। ८ सय बढीको परीक्षण प्रक्रियामा रहेको उनले बताए।
डडेल्धुरा र डोटीमा करिब ६ सय जनाको नमूना संकलन भएको छ। र्यापिड डायगोनिस्टिक टेष्ट (आरटिडी) विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको भइरहेको छ। अहिले हरेक प्रदेशलाई पाँच हजारको दरले आरडीटी किट वितरण गरिएको छ।
यसैवीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै दायरा बढेको हो।
यस्तै, विराटनगरमा समेत कोरोना परीक्षण सुरु भएको छ। कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशालामा परीक्षण सुरु भएको देवकोटाले बताए।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय १ र बाहिर २ सय २९ गरी ६ सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।
डेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णालीबाट २५ गरी बिहिबार संकलन भएका ७ सय ९ वटा नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ।