काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब जम्मा गर्न निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आइजी) सम्मको तलब काटेर सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बुधबार पठाइएको पत्रमा वैशाख महिनाको तलबबाट कट्टा गरी सो रकम जम्मा गर्न भनिएको छ। सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि संगठनले भने तलब कट्टा गर्न पत्राचार गरेको हो।
वैशाख महिनामा प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले अधिकृत तहका प्रहरीको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो । असईको २ हजार ६ सय ५८ रुपैयाँ र सईको २ हजार ८ सय २० रुपैयाँ कोषमा जम्मा हुनेछ।
यस्तै प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको ५ दिनको तलब काटिने छ। प्रहरी निरीक्षकको ६ हजार, प्रहरी नायव उपरीक्षकको ६ हजार ७ सय ३० र प्रहरी उपरीक्षकको ७ हजार २ सय ४५ रुपैयाँ कोरोना कोषमा जानेछ।
प्रहरी वरिष्ठ उपरीक्षकदेखि आईजीपीसम्मको ७ दिनको तलव कोषमा जम्मा हुनेछ। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको ११ हजार ५३, प्रहरी नायव महानिरीक्षक डीआईजीको ११ हजार ९ सय र प्रहरी अतिरिक्त महानिरीक्षक तथा महानिरीक्षकको ७ दिनको तलब १४ हजार १ सय ६१ रुपैयाँका दरले कोषमा जम्मा हुनेछ।