बाँके : बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो ।
निकुञ्जले जनाएअनुसार सन् २०१८ को गणनामा बयस्क बाघको सङ्ख्या २१ पुगेको छ । सन् २०१३ मा यहाँ चारवटा बाघ मात्र थिए ।
“बाघका लागि आहारविहार, बस्ने वातावरण र ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ” निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने । बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पु¥याउन सकिने प्रतिबद्धता नेपालको रही आएको छ । त्यो पूरा गर्न सकिने उनले बताए। यहाँ भइरहेको बाघको बृद्धिले पनि यसलाई सजिलो बनाएको निकुञ्जको धारणा छ ।
निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उभयचर पाइन्छन् ।
त्यसैगरी यस निकुञ्जमा सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरो जस्ता संरक्षित घस्रने वन्यजन्तु समेत रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ मानिएका पङ्छी पनि अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण वासस्थान पनि हो । रासस