सुर्खेत : सुदूरपश्चिममा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि सीमा जोडिएको सुर्खेतको चौकुने गाउँपालिकाले ‘हाइ अलर्ट’ घोषणा गरेको छ । कैलालीमा कोरोनाका संक्रमित बिरामी भेटिएपछि चौकुने गाउँपालिका सुर्खेतले हाइअर्लट घोषणा गरेको हो ।
कैलालीसँग सिमाना जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले अछाम, डोटी, कैलाली जिल्लासँग जोडिएका सबै झोलुंगेपुल, फेरीहरू सञ्चालन हुन नदीने निर्णय पनि गरेको छ ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले छिमेकी पञ्चपुरी नगरपालिकासँग जोडिएको भेरी झोलुंगे पुलमासमेत आवागमन गर्न पूर्ण रुपमा रोक लगाइएको बताए । उनका अनुसार कर्णाली नदीमाथिका कैलाली जोडने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोला पाखा झोलुंगे पुल सञ्चालनमा रोक लगाइएको छ ।
कोलीभरा, मालुमेला, टटालीलगायतका अछाम जोड्ने झोलुंगे पुलमा पनि आवागमनमा पूर्ण रोक लगाइएको छ भने डोटी जोडने पुक्रे बलाता, तालागाउँ काटई झोलुंगे पुल पनि पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष शाहीले बताए ।
कैलालीसँग सिमाना जोडिएका कारण चौकुनेमा कोरोना संक्रमित सहजै प्रवेश गर्न सक्ने भएकाले त्यसलाई निषेध गर्न गाउँपालिकाले यो कदम चालेको उनको भनाइ थियो ।