काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने भएको छ। मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्षा मन्त्रालयले नेपाली सेनामार्फत ‘जी टू जी’ (सरकार–सरकार) विधिबाट खरिद गर्न जिम्मा दिइसकेको खुलासा भएको छ ।
के के समान किन्ने भन्नेबारेमा अहिले स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको सैनिक स्रोतले जानकारी दियो। सरकारले हालै चीनबाट खरिद गरी ल्याएको मेडिकल सामग्रीमा अनियमतिता भएको भन्दै व्यापक आलोचना भएपछि सेनालाई अघि सारिएको हो। उच्च सरकारी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य उपकरणमाथि मन्त्रिपरिषद् भित्र नै प्रश्न र शंका उब्जिएपछि सेनालाई ‘जी टू जी’बाट खरिद गरेर ल्याउने जिम्मेवारी दिएको हो।
सेनाले गर्ने खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउँदैन।
सम्झौतामा उल्लख गरेजति सामग्री नल्याएको र ल्याउने सम्भावना नरहेको भन्दै सरकारले बुधाबार ओम्नी ग्रुपको ओबिसिआईसँग सम्झौता रद्द गरेको थियो। सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिने मिडिया ब्रिफिङमा जानकारी गराएका थिए।
ओम्नीले अहिलेसम्म जम्मा १० प्रतिशत सामान सरकारलाई बुझाएको छ।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।
सम्झौताअनुसार आइतबारमात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत आबिसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो।