वीरेन्द्रनगर, सुर्खेत : नेपाली सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सया वटा क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ । सेनाको उत्तरपश्चिम पृतनाले खुलामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिएको छ ।
प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले चार सय टेन्ट राखिएको बताए। एक जनालाई एउटा टेन्टमा राख्ने व्यवस्था मिलाएका उनले बताए। आवश्यकता अनुसार अन्य टेन्टहरु थप्ने तयारी अवस्थामा रहेको उनले जानकारी दिए।
खुलामञ्चमा बनाइएको क्वारेन्टाइनलाई तीन खण्डमा बाँडिएको छ। खण्ड (क) मा एक सय ५, खण्ड (ख) मा एक सय ५ र खण्ड (ग) एक सय ९० जनाका लागि टेन्ट तयार पारिएको हो।
क्वारेन्टाइनमा बस्नेहरुका लागि खानाको जिम्मेवारी क्याटरिङलाई दिइएको छ। उनले भने‘सेनाको सुपरिवेक्षणमा खाना प्याकिङ हुन्छ।’ प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरुलाई उपलब्ध गराउने व्यवस्था नेपाली सेनाले गराएको छ।
क्वारेन्टाइमा राखिएकाहरुको उपचारका लागि तीन जना प्यारामेडिकसहित पाँच जना स्वास्थ्यकर्मी छन्। क्वारेन्टाइनको सुरक्षाका लागि नेपाली सेनाको एक बटालियन तैनाथ छ।
सेनाले निर्माण गरेको क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ। क्वारेन्टाइन नहुँदा प्रदेश सरकारले वीरेन्द्रनगरको अशोका होटल, अन्तरनिर्भर समाज र जन माविमा भारत र अन्य मुलुकबाट आएका कर्णालीका नागरिकहरुलाई चार दिनदेखि राखिरहेको छ।
भारतबाट आएर जन माविमा राखिएका २२ जनालाई शनिबार नै दैलेख पठाउने तयारी प्रदेश सरकारले गरेको छ। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको हो।
कान्तिपुर बाट