बिमा सेवा अत्यावश्यक सेवा भएकाले जीवन बिमा व्यवसाय गर्ने कम्पनीले जीवन बिमा सेवा सुचारु रूपमा सञ्चालन गरिरहेका छन्।
युनियन लाइफले अहिलेको जटिल अवस्थामा कसरी सेवा दिइरहेको छ ?
कोरोनाको त्रासका कारण बिमा गर्न आउनेहरू निकै कम छन्। हामीले सूचना जारी गरेर बिमा सुविधा लिनका लागि को कसलाई सम्पर्क गर्ने जानकारी दिइसकेका छौं।
अहिले युनियन लाइफलगायत अधिकांश जीवन बिमा कम्पनीले लकडाउनलाई मध्यनजर गरेर आ–आफ्ना स्टेट चिफ, डिपार्टमेन्ट हेडलाई चौबिसै घण्टा बिमा सेवा सुचारु गर्न भनेका छौं। हामीले कम्पनीको आधिकारिक वेबसाइटमा पनि यो विषय खुलाएका छौं।
बिमा सेवा अत्यावश्यक सेवा भएकाले जीवन बिमा व्यवसाय गर्ने कम्पनीले जीवन बिमा सेवा सुचारु रूपमा सञ्चालन गरिरहेका छन्। जीवन बिमा कम्पनीले बिमा सेवा सुचारु गर्दा कोभिड १९ भाइरसबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीलाई पर्न सक्ने असरलाई न्यूनीकरण गर्न स्वास्थ्य सम्बन्धी आधारभूत सुरक्षाका उपयुक्त उपाय अवलम्बन गर्ने भनिएको छ।
कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले न्यूनतम कर्मचारीबाट बिमा सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाएका छौं। विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्ने म्याद थप गर्न बिमा समितिमा अनुरोध गरेका छौं। आवश्यक छलफल तथा परामर्श गरी उपयुक्त निर्णय लिँदै जानेछौं।
खासगरी बिमालाई संकटको बेलामा सम्झिने गरिन्छ, अहिलेको संकटबाट बिमासम्बन्धी सचेतना अभिवृद्घि हुने देख्नुहुन्छ ?
निकै कम छ। हुन त संकटकै बेलामा हो बिमा सम्झिने। तर, अभिकर्ता बिना बिमा सचेतना गर्न गाह्रो छ। संक्रमणको बेलामा भीडभाड गर्ने कुरा पनि आएन। यस्तामा हामीले सचेतना अभिवृद्घि गर्न सकिरहेका छैनौं।
बिमा के हो भन्नेबारे हामीले धेरै सचेतना ल्याइसकेको छौँ । हामीले बिमा कम्पनीले ल्याउने ‘प्रडक्ट’बारे पनि सर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यकता छ । बिमा योजनाबारे यही क्षेत्रमा कार्यरत जनशक्तिसमेत द्विविधामा रहेको अवस्थामा सर्वसाधारणलाई यो विषय बुझाउन सकिँदैन । त्यसो हुँदा योजनाबारे सचेतना आवश्यक भएको हो ।
हामी बिमा कम्पनीले पनि बिमा भनेको अरूका लागि होइन, आफ्नो लागि हो, यो जीवनको निरन्तरताका लागि हो भनेर बुझाउनु जरुरी छ । बिमा गरेर ज्यानको बदलामा आर्थिक सुरक्षा मात्र दिने हो । भोलिका दिनमा बिमितको आर्थिक सक्षमता हराएको बेला अथवा आम्दानी नभएको बेला अरूमा परनिर्भर हुनुभन्दा आफ्नो बिमाको पैसाले आत्मनिर्भर भएर आफैँ खर्च गरेर बस्न आखिर त्यही बिमाले दिने हो । सामान्यतया अहिले हामीसँग भएका बिमा योजना ६५–७० वर्षका छन् । ७० वर्षको उमेरपछि बिमा परिपक्व भएर बिमितले पैसा पाउँछ । त्यो पैसाले बिमितले बाँकी जीवन आर्थिक रूपमा सबल भएर जीवनयापन गर्न सक्छ । त्यस कारण त्यो हिसाबले बिमा सचेतना फैलाउन सक्यौँ भने मात्र बिमाको सही सन्देश पुगेको हुन्छ । त्यो गर्ने क्रममा हामी लागिपरेका छौँ ।
कोभिड जस्ता संक्रामक रोगबिरुद्घ बिमा पोलिसी ल्याउन अर्थमन्त्रीले सुझाव दिएका छ्न्, के यो तत्काल सम्बोधन हुन सक्छ ?
जीवन बिमाको हकमा त हामीले जोखिम बेहोरिहाल्छौं। कोरोना होस् वा अरु कुनै कारण, मृत्यु भएपछि पाउने नै भयो। तर, रोगव्याधीको लागि बिमा कम्पनीले जोखिम बहन गर्न सक्ने स्थिति छैन। सरकार आफैंले पनि उपचार र स्वास्थ्य क्षेत्रमा खर्च बेहोरिरहेको अवस्थामा हामीलाई त्यो जोखिम उठाउनुपर्ने जरुरी पनि छैन। तर, मृत्यु नै भएको खण्डमा जीवन बिमाले कभर गर्छ।
अहिले बजारमा धेरै प्लेयर हुँदा अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि ?
जीवन बिमामा त त्यस्तै अस्वस्थ प्रतिस्पर्धा छ जस्तो मलाई लाग्दैन। एउटै व्यक्तिले पनि धेरै थरी बिमा गरेको पाइन्छ। निश्चित दर तय भएको हुन्छ। त्यसैलाई आधार मानेर बिमा गरिरहेकै हुन्छन्।
तर, यहाँले भनेजस्तो निर्जीवनमा चाँही त्यस्तो प्रतिस्पर्धा देखिन्छ। फरक फरक कम्पनीले फरक दरमा बिमा गराइरहेका छौं। यसले अस्वस्थ प्रतिस्पर्धा बढिरहेकै छ।
बढी व्यापार देखाएर आफूलाई टिकाउने प्रवृत्तिले जीवन बिमामा ‘मिस सेलिङ’ प्रोत्साहित भएको छ। अरुको प्रोडक्टको गलत व्याख्या गर्नु, आफ्नो प्रोडक्टलाई बढाइचढाइ प्रचार गर्नु, कमिसनकै लागि एउटा कम्पनीबाट आएको पैसाले अर्कोमा बिमा गराउनु र कम आम्दानी हुनेको ठूलो बिमा गराउनुजस्ता गलत हिसाबले पोलिसी बेच्ने काम प्रसस्त भइरहेको छ। यसमा कम्पनी व्यवस्थापनले नै अभिकर्तालाई प्रोत्साहन गरेको पाइन्छ।
यो समस्या सावधिक र वार्षिक धन फिर्ता पोलिसीमा धेरै छ। केही अभिकर्ताले सोझासाझा जनतालाई ५ वर्षमै दोब्बर हुने प्रलोभन देखाएर पोलिसी बिक्री गरिरहेका छन्।
त्यस्तै वार्षिक धन फिर्ता पोलिसीमा प्रत्येक वर्ष ५ प्रतिशत सावा फिर्ता दिने र अवधि समाप्तीमा दोब्बर दिने भनी झुक्काएर पोलिसी बिक्री गरिरहेका छन्। त्यस्तै, कम आम्दानी हुने र बर्सेनि किस्ता प्रिमियम तिर्न नसक्नेलाई ठुल्ठूला बिमा गराउँदाकै परिणाम देखिएकै छन्।
बिमाको नवीकरण नहुने अनुपात ( ल्याप्स रेसियो ) कम गर्न कम्पनीले के पहल गरिरहेका छन् ?
बिमा पोलिसीलाई सक्रिय राख्न नियमित पोलिसी नवीकरण गर्नुपर्छ। सेवाग्राहीमा बिमासम्बन्धी सही सूचना नपुगेमा यस्तो समस्या आउने गर्छ। बिमा पोलिसीलाई चलायमान राख्न नियमित प्रिमियम बुझाउनुपर्छ। आर्थिक अवस्थाले थेग्नेभन्दा धेरैको पोलिसी खरिद गरेमा पनि समस्या आउँछ। पोलिसी बिक्री गर्ने अभिकर्ता र कम्पनीले सेवाग्राहीको आर्थिक क्षमताका आधारमा पोलिसी बिक्री गर्नुपर्छ। सेवाग्राहीलाई भिडाउन मात्र पोलिसी बेच्नु हुँदैन। कमिसनको लोभले पनि सेवाग्राहीको क्षमताभन्दा धेरैको पोलिसी भिडाउने परिपाटी छ।
साथै सेवाग्राहीलाई प्रिमियम तिर्नुपर्ने म्यादका जानकारी दिन अभिकर्ता र बिमा कम्पनी चुकिरहेका छन्। यसका लागि कम्पनीले सेवाग्राहीको आर्थिक क्षमताको अध्ययन गरेर मात्र पोलिसी बेच्ने गरेको छ। साथै सेवाग्राहीलाई आवश्यक सुझाव पनि दिने गरेका छौं।
बिमा कम्पनीको संख्या वृद्घिसँगै बिमा ल्याप्स गर्ने संख्या बढेको हो। तर, जुन हिसाबले बिमालेखको संख्या बढेको छ त्यसको तुलनामा सरेन्डर र ल्याप्सको अनुपात बढेको छैन। अभिकर्ताले बिमा गराउनका लागि जसरी अभिप्रेरित गरेको हुन्छ सोहीअनुसार नवीकरण गर्नका लागि पहल नगरेको पनि हुनसक्छ। त्यसका लागि कर्मचारीहरूले पनि आफ्नो तहबाट फलोअप गर्नुपर्छ। अभिकर्ता साथीहरूले पनि सुरुमा बिमा गर्नका लागि पहल गरेजस्तै समयमा प्रिमियम तिर्न, नवीकरण गराउनका लागिसमेत पहल पनि गर्नुपर्छ।
अभिकर्ता त एउटा माध्यममात्र हो। आजको दिनमा जसले बिमा गर्नुहुन्छ उहाँहरू पनि अधिकांश शिक्षित हुनुहुन्छ। बिमाको बारेमा बुझेर मात्र पोलिसी खरिद गर्नुहुन्छ। यसका फाइदाबारे जानकारी राख्नुहुन्छ। कहिले प्रिमियम बुझाउनुपर्छ, नवीकरण कहिले गर्नुपर्छ भन्ने विषयमा सचेत हुनुहुन्छ। अभिकर्ताले पनि सुरूमा बिमा पोलिसी ल्याउँदा बढी कमिसन आउँछ भनेर एउटा पोलिसी ल्याप्स गराएर अर्को पोलिसी खरिद गराउँदा सुरुमा फाइदा भए पनि ग्राहकले यथार्थ बुझेपछि ऊप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ। त्यस्तो व्यवसाय दिगो हुँदैन।
एक कम्पनीको पोलिसी ल्याप्स गराएर अर्को कम्पनीमा खरिद गर्ने प्रवृत्ति छ भने त्यसलाई रोक्नुपर्छ। यसका लागि सर्वसाधारणलाई पनि बिमाबारे सचेत बनाउन जरुरी छ।
नेपालको बिमा बजार कति जटिल छ ?
बिमा कारोबार ७० वर्षमा पनि सुस्त गतिमै छ। जनताको न्यून आयस्रोत र राज्यको प्राथमिकतामा नपरेको कारण लामो समयसम्म पछि परेकै हो।
गत तीन वर्षको अवधिमा १० वटा नयाँ जीवन बिमा कम्पनी, तीनवटा निर्जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले कारोबार सुरु गरिसकेपछि भने बिमा कारोबारले ठूलै फड्को मारेको अनुभव गरिएको छ।
आवश्यकताभन्दा बढी कम्पनी खुलेका कारण हिँजोका दिनमा एकैपटक धेरै बैंक, वित्तीय संस्था आउँदा बैंकिङ क्षेत्रमा देखिएको विकृति दुर्घटना बिमा क्षेत्रमा देखिने चिन्ता पनि छ।
अन्नपुर्ण पोष्ट बाट