कोरोना भाइरसबाट संक्रमण बिरामीको उपचार गर्न सेनाले मुलुकभर दुई हजार आठ सय ६० बेड क्षमताको क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गरेको छ । बनेकामध्ये क्वारेन्टाइन कक्ष दुई हजार २२ बेड र आइसोलेसन कक्ष आठ सय ३८ बेडको छ ।
कोरोना भाइरसविरुद्ध लड्न आवश्यक जनशक्ति र संक्रमितलाई राख्न आवश्यक तयार लगभग पूरा भएकाले सेना कोरोनाविरुद्ध लड्न तयार रहेको जनाएको छ । यसका लागि चिकित्सकसहितको रथी तथा अन्य सैनिक अधिकृत सम्मिलित कोर टिम गठन गरेको सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘कोरोना भाइरससम्बन्धी कुनै केस आएमा नेपाली सेनाका (डाक्टरसहितको) रथीवृन्द तथा अधिकृतसहितको कोर टिम गठन गरी सम्पूर्ण युनिट र सबयुनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ ।’
सेनाका अनुसार संक्रमितको उपचार गर्न चीन सरकारको सहयोगमा प्राप्त मोबाइल अस्पताल पनि प्रयोगमा आउनेछ । सेनासँग त्यस खालका मोबाइल अस्पताल दुई सेटको छ । एउटा सेट ५० शड्ढयाको भएकाले दुईवटा सेट परिचालन हुँदा एकैपटक सयजना बिरामीको उपचार गर्न सकिनेछ । कोरोनाविरुद्ध लड्न सेनाले आफूसँग भएको विशेषखालको एम्बुलेन्स पनि प्रयोमा ल्याउनेछ । यस्ता एम्बुलेन्स सेनासँग १८ वटा छन् । एम्बुलेन्समा पनि सामान्य अपरेसनदेखि उपचारका सबै सामग्री उपलब्ध छन् ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले चीन सरकारको सहयोगमा प्राप्त मोबाइल अस्पताल तत्काल प्रयोगमा आउने बताए । ‘हामीसँग दुई सेट मोबाइल अस्पताल छ । त्यसमा अपरेसन थेएटर, ल्याबदेखि खास किसिमका बिरामीको उपचार गर्न सकिने व्यवस्था छ । खासमा युद्धका क्रममा घाइते हुनेहरूको उपचारका लागि त्यस्ता अस्पतालको परिकल्पना गरिएको हो । तर, अब सेनाले अहिलेको संकटसँग लड्न पनि यो उपकरण प्रयोग गर्नेछ । यसबाहेक हामीसँग विशेष खालका एम्बुलेन्स छन् । ती पनि अब प्रयोगमा आउनेछन्,’ उनले भने ।
संक्रमितको उपचारमा सहयोग गर्न सेनाले मातहतका सैन्य अधिकृतलाई तालिम दिने काम सुरु गरिसकेको छ । तालिमका लागि मुलुकभरका युनिटमा एक सय ८१ सैन्य अधिकृत खटिइसकेको छन् ।
सेनाका २७ सुरक्षाकर्मी क्वारेन्टाइमा
सेनाका अनुसार कोरोनाको संक्रमणका आशंका गरिएका विभिन्न तहका २७ सैनिक अधिकारी सेल्फ क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बस्ने विदेशबाट तालिम सकेर आउने ११, शान्ति मिसनबाट फर्किएका १४ र छुट्टीमा विदेश गएका र बिदा सकेर फर्किएका दुईजना छन् । तालिम सकेकाहरू अमेरिका, दक्षिण कोरिया, भारत, क्यानाडा र कतार फर्किएका हुन् । शान्ति मिसनमा गएकाहरू लिबिया, साउथ सुडान,माली र मलेसियाबाट फर्किएकाहरू हुन् । त्यस्तै बिदा सकेर फर्किएकाहरू भने सबै भारतबाट आएका हुन् ।
५४ हजारमा परीक्षणपछि एउटामा पोजेटिभ
सेनाका अनुसार विभिन्न मुलुकबाट फर्किएका ५४ हजार ६६ सर्वसाधारणलाई कोरोना परीक्षण गरिसकिएको छ । सेना र स्वास्थ मन्त्रालयको संयुक्त टोलीले ४१ वटा हेल्थ डेस्कबाट भएको परीक्षणमा १४ जनामा संक्रमणको आशंका गरिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरूमध्ये पाँचजनालाई टेकु अस्पतालस्थित आइसोलेसनमा सारिएको छ । एकजनालाई टेकुकै आइसियू कक्षमा राखिएको छ । एकजनामा भने कोरोना पोजिटिभ देखिएको छ । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।