काभ्रे : टिप्परले किचेर आमाछोरीको मृत्यु भएपछि काभ्रेको पनौतीमा तनाव उत्पन्न भएको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिप्परले सोमबार साँझ बसपार्कमा आमाछोरीलाई किचेको थियो। टिप्परको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।
स्थानीय वासिन्दा र मृतकका आफन्तले सोमबार साँझ नै पनौतीमा प्रदर्शन गरेका थिए। उनीहरूले तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो। केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।
आज बिहानैदेखि पनि प्रदर्शन सुरू भएको छ। स्थिति नियन्त्रणमा लिन कर्फ्र्यू लगाउनु परेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिेनाले बताए।
प्रमुख जिल्ला अधिकारी तिमिल्सेनाका अनुसार, पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको छ। प्रशासनले आज बिहान ९ बजेदेखि कर्फ्यू लगाएको हो।
प्रहरीले चालक र टिप्परलाई नियन्त्रणमा लिएको छ। विवाद साम्य पार्न छलफल भइरहेको जनाएको छ।