डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिन अघि हेलिकोप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमुना काठमाडौंको टेकु अस्पतालमा परीक्षण गरिएको थियो । उक्त नमुनाको रिपोर्ट शुक्रवार बेलुकी मात्रै डोल्पा आइपुगेको थियो ।
गाउँ नै थला पार्ने गरि दुईसाता देखि फैलिएको सो रोग ुमौसमी रुघाखोकीु भएको जिल्ला अस्पतालका डा।मेलिना हमालले जानकारी दिइन् । विश्वभर कोरोना भाइरस फैलिएको र विरामीको लक्षण कोरोनासँग मिल्दो जुल्दो भएकाले यहाँका स्थानियमा त्रास फैलिएको थियो ।
‘शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको रिपोर्ट आयो, रिपोर्टमा अरुबेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ’, डा. हमालले भनिन् ‘सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरी नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सहि तरिकाले मास्कको प्रयोग नगर्ने, पानी उमालेर नखाने, जहाँ पायो त्यहि फोहोर गर्ने, हात नधोइ खाना पकाउने जस्ता यावत् कुराहरुमा ध्यान नदिँदा रोग फैलिएको पायौँ ।’
आजभोली सबै स्थानीयलाई भेला गरेर सरसफाई कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्ने लगाएतका स्वास्थ सम्बन्धि धेरै कुराहरु सिकाइएको डा।हमालले बताइन् ।
बिरामीको अवस्थामा सामान्य
पाँच जना स्वास्थकर्मीले लेखनाथ आधारभुत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार सुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामीहरु स्वस्थ्य भएर पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । रुघाखोकी, ज्वरो र पखालाका कारण दुईसाता देखि थला परेका १ सय ५० जनाको नियमित उपचार गरेपछि उनीहरू सामान्य अवस्थामा फर्किएको र नियमित काममा जान थालेको डा। हमालले जानकारी दिइन् ।
स्वास्थ्यकर्मी फर्किए
करिब एकहप्ताको बसाईपछि स्वास्थ्यकर्मी पनि आफ्नो जिम्मेवारी पुरा गरि फर्किएका छन् । मौसमी रुघाखोकीका कारण गाउँ नै थलापरेपछि प्रदेश अस्पतालका डाक्टर इन्द्रबहादुर थापा, जिल्ला अस्पतालका डाक्टर मेलिना हमाल, सारङ्गा रोकाय, स्वास्थ्यचौकी त्रिपुराकोटबाट सिनियर अहेव शेरबहादुर कठायत, अनमि लक्ष्मी न्यौपाने लगाएतको टोली रोगग्रस्त करेलीकाँडा पुगेका थिए ।
शुक्रबार ल्याब परीक्षणको रिपोर्ट सामान्य आएसँगै स्वास्थकर्मीको टोली पनि फर्किएको हो । लामो समय गाउँमै बसेर आफुहरुको उपचार गरेको भन्दै स्थानीयले स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।
नयाँ पत्रिका