सुर्खेत : कर्णाली सरकारले कोरोना भाइरस प्रदेशमा छिर्न नदिन भन्दै सुर्खेत विमानस्थलमा हेल्थ डेस्क स्थापना गरको छ।
चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वभरमा प्रकोपको रुप लिँदै गएपछि कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ।
प्रदेश सरकारले आज काठमाडौंबाट सुर्खेत भित्रिने नागरिकको चेकजाँच गरेर हेल्थ डेस्क स्थापना गरेको छ। पहिलो दिन काठमाडौंबाट सुर्खेत प्रबेश गरेका सबै ३७ जनाको चेकजाँच गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सहायता कक्षमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित ३७ जनाको स्वास्थ्य जाँच गरिएको हो। जाँच गरिएका ३७ जना मध्ये एकजनामा सामान्य ज्वोरो लक्षण बाहेक अरुकुनै पनि लक्षण देखा नपरेको जनस्वास्थ कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए।

उनले विभिन्न देशमा भाइरसको सँक्रमण फैलिरहेको बेला कारोना भाइरस भएरनभएको पत्ता लगाउन सहायता कक्षमा स्थापना गरिएको बताए।
प्रदेश सरकारले चिनसग सीमा जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ को बबई, सल्यानको कपुरकोटमा हेल्थ डेस्क स्थापना गर्ने बताएको छ।
उत्तरी छिमेकी मुलुक चीनसँगै सिमाना जोडिएको कर्णाली प्रदेशमा पनि कोरोनाको त्रास बढ्न थालेको छ। प्रदेश सभा बैठकमा समेत सांसदहरुले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन।
यसैबीच, कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले कोरोना भाइरसका सम्बन्धमा जिल्लाहरुमा जनचेतनामूलक अभियान चलाइएको बताएको छ।

निर्देशनालयका निर्देशक रिता भण्डारीले प्रचारप्रसारदेखि जोगिने तरीकाका बारेमा नागरिकस्तरसम्म सबै प्रकारका सुचनाहरु सरोकारवाला निकाय सम्ममा पुर्याएको बताइन्। कोरोना संक्रमणका बिरामी फेला परे प्रदेश अस्पतालमा आईशोलेसन कक्षको पनि व्यवस्था गरिएको उनले बताइन्।
संक्रमण हुन नदिनका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको उनको भनाई छ।
यस्तै कर्णाली सरकारले प्रदेशमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई बिदा नबस्न निर्देशन दिएको छ। प्रदेशका सबै जिल्ला तथा प्रदेश अस्पतालमा पत्रचार गर्दै स्वास्थ्य कर्मचारीलाई काज तथा बिदामा नपठाउन निर्देशन दिइएको निर्देशक भण्डारीले बताए।