एजेन्सी : ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेण्ड रोनाल्डिन्हो पाराग्वेमा नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
रोनाल्डिन्होलाई बुधवार राति रिसोर्ट याट एण्ड गल्फ क्लब पाराग्वेबाट उनका भाइ रोबर्टोसँगै पक्राउ गरिएको पाराग्वेको आन्तरिक मन्त्रालयले जनाएको छ ।
ला नासिओनका अनुसार त्यहाँको होटलमा भेटिएको पासपोर्टको विवरण अनुसार रोनाल्डिन्हो र रोबर्टोको दुवैले पाराग्वेको नागरिकको रुपमा पासपोर्ट लिएको देखिएको छ ।
पाराग्वे पुलिसले आधिकारिक विज्ञप्तिमा रोनाल्डिन्हो र उनका समुहलाई क्यासिनोका मालिक नेल्सन बेलोट्टीले पराग्वेमा आमन्त्रित गरेका थिए । सोही निमन्त्रणालाई स्वीकादै उनीहरु नक्कली कागजात प्रयोग गरी पाराग्वे पुगेका थिए ।
हाल रोनाल्डिन्होसँग ब्राजिलियन पासपोर्ट छैन । उनलाई ब्राजिली अदालतले सन् २०१८ मा वातावरणीय जरिवाना गरेको थियो । त्यो बापत उनलाई ८५ लाख डलर जरीवाना गरिएको थियो ।
उक्त जरिवाना रकम भुक्तानी गर्न नसकेपछि उनलाई त्यहाँको सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश गरेको थियो । उनले २०१५ मा त्यहाँस्थित एक तालमा बिना लाइसेन्स माछा मार्ने अखडा बनाएका थिए ।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा रोनाल्डिन्हो टोलीका मुख्य सदस्य रहेका थिए । ३९ वर्षीय रोनाल्डिन्होले २००५ मा ‘बालोन डी ओर’ तथा २००४ र २००५ मा ’फिफा वल्ड प्लेयर अफ द ईयर’ अवार्ड जितेका थिए ।
हाम्रो खेलकुद डटकम