सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपालको उपकुलपतिमा प्रा.डा. नन्दबहादुर सिंह नियुक्त भएका छन् । डा.उषा झा नेतृत्वको सर्च कमिटीले केही महिना अगाडि प्रधानमन्त्रीलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि गरेको सिफारिशका आधारमा प्रा.डा. सिंह उपकुलपति नियुक्त भएका हुन् ।
सर्च कमिटिले सिंह संगै जनार्दन लामिछाने र केशरसिंह राना गरी तीनजनाको नाम सिफारिस गरेको थियो । त्रीभुवन विश्वविद्यालयका प्रध्यापक नन्दबहादुर सिंह सिफारिस लिस्टको एक नम्बरमा भएका कारण उपकुलपतिमा नियुक्त हुनसक्ने प्रवल सम्भावना रहेको चर्चा यस अघि नै चलेको थियो । कतिपयले उपकुलपति नियुक्त भइसकेको तर बाहिर सार्वजनिक नभएको समेत ब्याख्या गरेका थिए । प्रा.डा. सिंह पूर्व एमाले कोटाबाट सिफारिशमा परेको विश्वविद्यालय निकट श्रोतले बताएको छ ।
सिंहलाई प्रधानमन्त्री र नेकपा कर्णाली प्रदेश इन्चार्ज जमार्दन शर्माको पनि उत्तिकै सहयोग रहेको कुरा केही समय अघि सार्वजनिक भएको थियो । योग्यता,अनुभव र क्षमताको आधारमा नन्द सिंह पहिलो परेको कतिपयको दाबी थियो । सिंहले संसारकै उत्कृष्ट १२ मा पर्ने टोकियो विश्वविद्यालय बाट सन् २००२ मा विद्यावारिधी गरेका हुन् भने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका थिए । गत असोजमा पूर्व उपकुलपति उपेन्द्रकुमार कोइरालाको पदावधी सकिएपछि सरकारले डा. मस्तबहादुर गरंजालाई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि उपकुलपति नियुक्त गरेको थियो ।
प्रा.डा. सिंह कालिकोट निवासी हुन् । विश्वविद्यालयमा कर्णालीकै व्यक्ति उपकुलपति नियुक्त हुनुपर्ने माग समेत उठेको र त्यसैलाई समेत ध्यानमा राखि उनलाई उपकुलपति नियुक्त गरिएको धेरैको अनुमान छ । प्रा.डा. सिंहले विश्वका १० भन्दा बढि देशमा भिजिटिङ प्रोफेशरका रुपमा पनि कार्य गर्दै आएका छन् । उनले विभिन्न समयमा प्राध्यापन गरेका विश्वविद्यालयहरुमा जापानको काहोको युनिभर्सिटी अफ आर्ट एण्ड डिजाइन (१९९७), कलेज अफ मेडिशिन हेनान युनिर्भसिटी चाइना (२००४ देखि २००७), थान्कोन नेशनल युनिर्भसिटी दक्षिण कोरिया लगायत रहेका छन् ।
होस्ट खबर संग संक्षिप्त कुराकानी गर्दै प्रा.डा. सिंहले यस क्षेत्रको उच्च शिक्षा विकासका लागि आप्mनो अथक प्रयास रहने र केही दिनमैं काठमाण्डौंबाट सुर्खेत आउने बताए ।