कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोली फेरि पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरिरहेको अनुसन्धानमा सघाउन सीआईबीबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा फरेन्सिक र कम्प्युटर विज्ञसहितको टोली खटाइएको हो ।
सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले कञ्चनपुर प्रहरी टोलीलाई ‘ब्याक सपोर्ट’ गर्न तथा प्राविधिक अनुसन्धानमा सघाउन टोली खटाइएको जनाए । ‘प्रहरी निरीक्षकको नेतृत्वको सीआईबी टोली एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै छ । मूल अनुसन्धान कञ्चनपुर प्रहरीबाटै भइरहेको छ । हामीले घटनाको प्राविधिक अनुसन्धानमा सघाइरहेका छौं,’ एसपी पाण्डेले भने ।
घटनाबारे कञ्चनपुरका डीएसपी रवीन्द्रनाथ पौडेलको नेतृत्वमा अनुसन्धान भइरहेको छ । पौडेलको टोलीले पनि स्थानीय दिलीपसिंह विष्टमाथि नै केन्द्रित भएर घटनाको अनुसन्धान गरिरहेको छ । विष्ट डेढ वर्षअघि नै पक्राउ परेर छुटेका थिए । घटनापछि ३ जना अनुसन्धान अधिकृत फेरिइसकेका छन् ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले घटनामा संलग्नलाई जतिसक्दो चाँडो कानुनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको बताए । ‘निर्मला पन्त बलात्कार र त्यसपछि भएको हत्यासम्बन्धी घटनाको कञ्चनपुर प्रहरीबाटै अनुसन्धान भइरहेको छ, यसमा ‘ब्याक सपोर्ट’ का रूपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै बसेर काम गरिरहेको छ,’ प्रवक्ता क्षत्रीले भने, ‘अपराधमा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउने हाम्रो प्रयास जारी छ, सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’ प्रहरीले २०७५ भदौ ४ मा विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले दिलीप मानसिक रोगी रहेका कारण घटना घटाउन नसक्ने दाबीसहित आन्दोलन गरेका थिए ।
त्यसपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठाइएको भए पनि पुनः उनीमाथि केन्द्रित भएर शून्यबाट अनुसन्धान अघि बढाइएको कञ्चनपुर प्रहरीका एक अधिकृतले बताए । सीआईबीका डीएसपी अंगुर जीसीको अनुसन्धान टोलीले दिलीपसिंह विष्टकै संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।
नेपाल प्रहरीका तत्कालीन एआईजी धीरु बस्न्यातको आन्तरिक छानबिन टोली र गृह मन्त्रालयका सहसचिव हरि मैनाली नेतृत्वको छानबिन समितिले विष्टको संलग्नता नभएको उल्लेख गरेपछि घटना मोडिएको थियो । तर पछिल्लोपटक माघ १९ गते प्रहरी प्रधान कार्यालयले डीआईजी सुरज केसीको संयोजकत्वमा बनाएको समितिले घटनामा विष्टको संलग्नता नभएको भन्ने यसअघिका छानबिन समितिको प्रतिवेदनमाथि नै प्रश्न उठाउँदै पुनः शून्यबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रहरी प्रवक्ता क्षत्रीले यसअघि गरिएका अनुसन्धानका क्रममा भेटिएका प्रमाणलाई समेत एकसाथ लिएर दोषी पत्ता लगाउन निर्देशन दिइएको बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी पन्त २०७५ साउन ११ गते सोही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।