बैतडी : लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिवादबारे सरकारको ध्यानाकर्षण गराउन भन्दै बैतडीका एक युवाले बुधबार देखि रिले अनसन सुरु गरेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेव जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेका हुन् ।
नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली सेना राख्नु पर्ने र सीमा बिवादका विषयमा दुई देशका सरकार प्रमुखबीच छलफल भई निष्कर्षमा पुग्नु पर्ने लगायतका माग राखी अनसन सुरु गरेको जोशीले बताए । जोशीले ३ दिन बैतडीमा अनसन बसी त्यसपछि दार्चुला, कैलाली हुँदै काठमाडौं जिल्ला प्रशासन अगाडि समेत अनसन बस्ने बताए ।