सुर्खेत : नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कर्णालीलाई समृद्ध बनाउन पर्यटन र जडिबुटी नै पर्याप्त रहेको बताएकीछन् ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवनको विहीवार सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष राणाले कर्णालीमा लगानीको बातावरण बनाउन सके देशकै अर्थतन्त्र बलियो हुने बताइन् ।
अहिलेको अवस्थामा कर्णालीको पर्यटन, खानी खनिज र जडिबुटीमा लगानीको आवश्यकता भएको र लगानी खेर नजाने उनको भनाई छ ।
अध्यक्ष राणाले प्रदेश विकासको लागि निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने भन्दै कर्णालीका नीति नियम, विकास र आर्थिक विषयमा निजी क्षेत्रसँग सहकार्य गर्नसमेत सुझाब दिइन् ।
कर्णाली प्रदेशको समृद्धि गर्न संघीय सरकार, प्रदेश सरकारले सडक र हवाई पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाई छ । प्रदेशमा रहेका निजी क्षेत्रले प्रदेश सरकारसँग जडिबुटी र कृषिका लागि केही पहल गर्नुपर्ने अध्यक्ष राणाले सुझाव दिइन् ।
महासंघ ठूला मात्र नभएर साना तथा मझौला उद्योगलाई समेत सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेशमा लगानीको आवश्यकता रहेको बताए । ठूलो लगानी नआएसम्म यहाँको आर्थिक विकास हुन नसक्ने भएकोले यसमा संघीय सरकारले विशेष चासो दिनुपर्ने उनको भनाइ छ ।
महासंघको प्रदेश भवन करिव ४० लाखको लागतमा निर्माण भएको हो । महासंघले आयोजना गरेको महोत्सवमा संकलन भएको रकमबाट भवन बनाइएको प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए ।