सुर्खेत : खाद्य अधिकारकर्मी र सरोकारवालाहरुले सुर्खेतका खाद्य व्यवसायीले मनपरी मूल्य तोकेर व्यवसाय गरेको गुनासो गरेका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य अधिकार विषयक सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन ।
उनीहरुले नियमन र कारबाहीको अधिकार पाएको वीरेन्द्रनगर ननगरकार्यपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित हुँदा पनि चुप लागेर बसेको बताए ।
सहभागीहरुले नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरुले म्याद नाघेका खाद्य वस्तु र मिसावट गरिएका अखाद्य बस्तु तथा अव्यवस्थित बजरको कारण वीरेन्द्रनगरमा रहेका होटेल र रेष्टुरेण्टहरुमा धुँवा धुलो मिसिएको खाना नास्ता उपभोग गर्न बाध्य हुनु परेको उल्लेख गरेका थिए ।
कार्यक्रममा नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले उपभोक्ताहरुको हितका लागि आवश्यक कानून निमार्ण र कार्यान्वयन गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले उपभोक्ताहरुको हितका लागि नागरिक संघसंस्थाहरुले पनि सचेतिकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कृषि विज्ञ छविलाल पौडेलले सबैभन्दा बढी कुपोषित भएका बालबालिकाहरु कर्णाली प्रदेशमा रहेको बताउँदै विषादीयुक्त खाद्य सेवनलाई निराकरण गर्नुपर्नेमा जोड दिए । हेल्भेटासका प्रमोद भारीले कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने नीतिलाई सहयोग गर्ने बताए । वीरेन्द्रनगर नपा ११ का अध्यक्ष नन्दलाल शर्माले नपाले पारित गरेको ऐनलाई अक्षरश कार्यान्वयन गर्ने बताए ।
सुर्खेतमा खाद्य सामग्री विक्रि गर्ने पसल र होटेल व्यवसायीहरुले विगत लामो समयदेखि मनपरी ढंगले मूल्य तोकेर सामग्री विक्रि गरेको र अखाद्य तथा विषाधीयुुक्त मसला प्रयोग गरी बनाइएका परिकार बेच्ने गरेको व्यापक जनगुनासो छ । नगरपालिका र प्रशासनले होटेलहरुको स्तर तथा बर्गिकरण र नियमित अनुगमन गर्नुपर्ने उनीहरुको माग छ ।