बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवल वरिपरिका व्यवसायीक सटरहरुमा डोजर चलाइएको छ। अस्पतालले पटक पटक सटर खाली गर्न भने पनि व्यवसायीले अटेरी गरेपछि आज विहान व्यवसायीक सटरहरुमा डोजर चलाइएको हो ।
अस्पतालले सटर खाली गर्ने भनेपछि अस्पतालका विरूद्ध केहि व्यवसायीहरुले सम्झौता अनुसार नै व्यवसाय संञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए। व्यवसायीको मुद्धाको अदालतले माघ १९ गतेका दिन अन्तरकालिन आदेश मागलाई खारेज गरिदिएको थियो।
अदालतको आदेशपछि अस्पतालले व्यवसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेतावनी दिएको थियो। तर व्यवसायीले अटेर गरिेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा। राजेन्द्र खनालले बताउनुभयो। अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न लगाएको अस्पतालले जनाएको छ।
अस्पताल परिसरमा ७३ सटर छन्। ती सटर हटाएर पर्खाल लगाउने प्रदेश सरकारले निर्णय गरेको छ। सटरभाडा बापत अस्पतालले वार्षिक ९ करोड आम्दानी गर्दै आएको थियो।