एजेन्सी : कोरोना भाइरस प्रकोपबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ । आयोगका अधिकारीहरुका अनुसार सोमबार मात्र कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको हो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण ४२५ को मृत्यु भएको र फिलिपिन्समा एक जनाको गरी ४२६ जनाको मृत्यु भएको छ ।
त्यस्तै यो रोगबाट चीनमा मात्रै संक्रमित हुनेहरु २० हजारभन्दा बढी पुगेको बताइएको छ । सोमबार मात्रै चीनमा थप दुई हजार ३ सय ४५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो अपडेटअनुसार चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
चीन बाहिर नेपालसहितका देशमा गरी १ सय ८० जना भन्दा बढी यो भाइरसबाट संक्रमित रहेका छन् । विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् । नेपालमा पनि चीनबाट भित्रिनेहरूमाथि उच्च निगरानी राखिएको छ ।